सोमले तोडे ३२ वर्ष पुरानो कीर्तिमान
विभागीय टोली त्रिभुवन आर्मी क्लबका सोमबहादुर कुमालले एथलेटिक्सको चार सय मिटरमा ३२ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेका छन्। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरा रंगशालामा मंगलबार भएको प्रतिस्पर्धामा सोमबहादुरले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका हुन्।
सोमले निर्धारित दूरी ४७।९५ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन्। सन् १९९० मा चीनको बेइजिङमा भएको प्रतिस्पर्धामा आशाराम चौधरीले राखेको ४८।३२ सेकेन्डको कीर्तिमानलाई तोडेका हुन्। एपीएफका आशिष चौधरीले ४९।४० सेकेन्डमा दौड पूरा गर्दै रजत पदक जित्दा आर्मीका प्रकाश दनुवारले ४९।९० सेकेन्डको समयका साथ कांस्य पदक हात पारे।
महिलातर्फ एपीएफकी रमिताकुमारी थारुले पनि राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक पक्का गरिन्। उनले निर्धारित दूरी ५८।१० सेकेन्डमा पूरा गरिन्। राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो स्वर्ण जितेकी रमिताले सन् २०१९ मा चीनको वुहानमा तुलसा खत्रीले राखेको ५९।५७ सेकेन्डको कीर्तिमानलाई तोडेकी हुन्। आर्मीकी निर्मला थापाले एक मिनेट ००।१४ सेकेन्डका साथ रजत जितिन्। कांस्य जितेकी एपीएफकी कल्पना श्रेष्ठले १।००।७० सेकेन्डमा दौड पूरा गरिन्।
जयरानीलाई तेस्रो स्वर्ण
त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले एथलेटिक्सको महिला लङजम्पमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन्। पोखरा रंगशालामा मंगलबार भएको प्रतिस्पर्धामा जयरानीले ५।५८ मिटर जम्प गर्दै स्वर्ण संख्या तीन पुर्याइन्। उनले लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा रहेको राष्ट्रिय कीर्तिमान तोड्दै ५।४७ मिटरको कीर्तिमान बनाएकी हुन्।
जयरानीले आइतबार महिला ४०० मिटर हडल्समा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी थिइन्। भने सोमबार महिला एक सय मिटर हडल्समा पनि स्वर्ण पदक जितेकी थिइन्। यस स्पर्धामा लुम्बिनीकी निशा चौधरीले ५।४९ मिटर जम्प गर्दै रजत पदक जितिन्। एपीएफकी शिला चौधरीले ५।३१ मिटर जम्प गर्दै कांस्य हात पारिन्।
म्याराथनमा बिन्द्रा र अनिसलाई स्वर्ण
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको महिला म्याराथनमा एपीएफ क्लबकी बिन्द्रा श्रेष्ठले स्वर्ण पदक जितेकी छन्। पोखरा रंगशालामा मंगलबार भएको खेलमा बिन्द्राले आर्मीकी विश्वरुपा बुढालाई पछि पार्दै स्वर्ण जितेकी हुन्।
बिन्द्रा श्रेष्ठ
बिन्द्राले निर्धारित दूरी २ घण्टा ५७ मिनेट २३ सेकेन्डमा पूरा गरिन्। विश्वरुपाले सो दूरा पूरा गर्न ३ घण्टा ००।३५ सेकेन्डको समय लगाइन्। पुलिसकी रेखा विष्टले ३ घण्टा ०१।३५ सेकेन्डका साथ कांस्य पदक पक्का गरिन्।
यसैगरी पुरुषतर्फ गण्डकी प्रदेशका अनिस थापामगरले स्वर्ण जिते। उनले आर्मीका कृष्ण बस्नेतलाई पछि पार्दै दुई घन्टा २२ मिनेट ५४ सेकेन्डका साथ स्वर्ण पदक पक्का गरे। कृष्णले सो दूरी २ घन्टा २३ मिनेट १४ सेकेन्डमा पूरा गरे। एपीएफका सन्तोषविक्रम विष्टले २ घन्टा ३० मिनेट ५४ सेकेन्डमा दुरी पार गर्दै कांस्य पदक पक्का गरे।
भारतीय सेनामा १३ वर्ष बिताएका अनिसले त्यहाँ १० किलोमिटर र क्रस कन्ट्रीमा प्रतिस्पर्धा गर्दै आएका छन्। राष्ट्रिय खेलकुदमा सहभागिता जनाएको तेस्रो प्रयासमा उनले स्वर्ण पदक जितेका हुन्। २०६५ मा काठमाडौंमा भएको पाँचौ राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चलबाट खेलेका उनले चार वर्षअघि आठौं राष्ट्रिय खेलकुदमा १० हजार मिटरमा रजत पदक जितेका थिए।









