नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा बागमतीमाथि एपीएफको कठिन जित

कोल्हवी न्यूज
२०७९ आश्विन २५, मंगलवार १३:४२ गते

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटतर्फ मंगलबारको पहिलो खेलमा एपीएफले बागमती प्रदेशलाई ४ विकेटले पराजित गरेको छ ।

राष्ट्रिय टिमका अधिकांश खेलाडी सम्मिलित एपीएफले बागमतीलाई हराउन भने संघर्ष गर्नुपर्‍यो । बागमतीले दिएको ९० रनको लक्ष्य पूरा गर्न एपीएफले १९.१ ओभर खेल्दै ६ विकेट गुमायो । ३१ रनमै ४ विकेट गुमाएको एपीएफलाई रोमा थापा, ममता चौधरी र नेरी थापाले जितसम्म पुर्‍याए । एपीएफको लागि रोमा थापाले सर्वाधिक २२ तथा ममता चौधरीले १७ रन बनाइन् ।

नवौं राष्ट्रियका लागि एपीएफमा समावेश भएकी नेरी थापाले अविजित १६ रन बनाइन् । यस्तै कप्तान सिता राना मगरले १६ रन बनाइन् । बागमतीका लागि सोनी पाख्रिन र सुमन खतिवडाले २-२ तथा कप्तान अस्मिना कर्माचार्यले १ विकेट लिइन् ।

पोखरा रंगशाला क्रिकेट मैदानमा त्यस अघि पहिले ब्याटिङ गरेको बागमतीले २० ओभरमा ७ विकेट गुमाएर ८९ रन बनाएको थियो । बागमतीका लागि सुमन खतिवडाले १९ रन बनाइन् भने कप्तान अस्मिना कर्माचार्यले अविजित रहँदै १९ रन नै जोडिन् ।

बागमतीका अन्य ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बागमतीले २० रन अतिरिक्तबाट पाएको थियो । बागमतीका चार खेलाडी रनआउट भएका थिए ।

एपीएफका लागि रेखा रावल, नेरी थापा र ईन्दु बर्माले समान १ विकेट लिए ।

जितबाट प्रतियोगिता सुरु गरेको एपीएफले समूह ए मा २ अंक जोडेको छ । पहिलो खेलमा सुदूरपश्चिमलाई हराएको बागमतीको भने यो पहिलो हार हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*