आर्सनल र चेल्सी विजयी
शीर्षटोली आर्सनल र चेल्सीले इङ्लिस प्रिमियर लिग फुटबलमा जित निकालेका छन् । घरेलु मैदानमा शनिबार राति भएको खेलमा आर्सनलले १० खेलाडीमा समेटिएको टोट्टनहामलाई ३-१ गोलले हरायो । अर्को खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई उसैको मैदानमा २-१ गोलले स्तब्ध बनायो ।
आर्सनलको जितमा थोमस पार्ट, ग्याब्रियल जेसस र ग्रेनाइट जाकाले गोल गर्नुभयो । टोट्टनहामका ह्यारी केनले एक गोल फर्काउनुभयो । थोमसले २०औं मिनेटमा गोल गर्दै घरेलु टोलीको उत्साह बढाउनुभयो ।
त्यसपछि केनले ३१औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काउनुभयो । जेससले ४९औं र जाकाले ६७औं मिनेटमा गोल गर्दै आर्सनललाई सजिलै जिताउनुभयो । यसअघि ६२औं मिनेटमा इमर्सन रोयल्सले रातो कार्ड पाउँदै बाहिरिएपछि टोट्टनहाम १० खेलाडीमा समेटिएको थियो ।
जसको फाइदा आर्सनलले उठायो । जितसँगै शीर्षस्थानमा उक्लिएको आर्सनलले आठ खेलबाट २१ अंक बनाएको छ । पराजित टोट्टनहाम १७ अंक सहित तेस्रो स्थानमा छ । दोस्रो स्थानामा रहेको म्यानचेस्टर सिटीको १७ अंक छ ।
यसैगरी अर्को खेलमा चेल्सीलाई जिताउन पिर्रे एमरिक औबामियाङले ३८औं र कोनोर गल्लाघेरले ९०औं मिनेटमा गोल गर्नुभयो। यसअघि सातौं मिनेटमा क्रिस्टलका ओड्सोने एडोवार्डले गरेको गोल सान्त्वना बनेको थियो ।
जितसँगै सात खेलबाट १३ अंक बनाएको चेल्सी पाँचौं स्थानमा छ । पराजित क्रिस्टल प्यालेस ६ अंकसहित १७औं स्थानमा छ । अर्को खेलमा लिभरपुल र ब्राइटनले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । एजेन्सी









