दाइजो प्रथाविरुद्ध राष्ट्रिय अभियान मधेशबाट सुरु गर्ने तयारी

कोल्हवी न्यूज
२०८३ श्रावण ७, बिहीबार १८:०८ गते

दाइजो प्रथा अन्त्यका लागि देशव्यापी राष्ट्रिय अभियान सञ्चालन गर्ने तयारी गरिएको छ । यस विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारीबीच मन्त्रालयमा छलफल भएको हो ।

छलफलका क्रममा दाइजो प्रथाविरुद्धको राष्ट्रिय जनचेतना अभियान पहिलो चरणमा मधेश प्रदेशबाट सुरु गरी क्रमशः देशभर विस्तार गर्ने सहमति भएको छ ।

अभियानअन्तर्गत स्थानीय तह, विद्यालय, समुदाय, धार्मिक तथा सामाजिक अगुवा, युवा र महिला समूहको सहभागितामा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।

दुवै पक्षले दाइजो प्रथालाई महिला हिंसा, लैङ्गिक विभेद र सामाजिक अन्यायको प्रमुख कारणका रूपमा औँल्याउँदै कानुनको प्रभावकारी कार्यान्वयनसँगै सामाजिक चेतना विस्तारमा जोड दिएका छन् ।

मन्त्री बादीले दाइजो प्रथा अन्त्यका लागि कानुनी कारबाहीसँगै व्यवहारमा परिवर्तन आवश्यक रहेको बताउनुभयो । उपसभामुख रुबी कुमारीले तीनै तहका सरकार र सरोकारवालाबीचको सहकार्यबाट मात्रै दाइजोमुक्त नेपाल निर्माण गर्न सकिने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*