पार्टी कार्यालय सञ्चालनको विषयमा बारामा कांग्रेसका दुई समूहबीच झडप
बारा । पार्टी कार्यालय सञ्चालनको विषयलाई लिएर बारामा नेपाली कांग्रेसका दुई समूहबीच झडप भएको छ। तत्कालीन जिल्ला सभापति राजेश राय यादव र कार्यवाहक सभापति मनोज भट्ट समूहबीच विवाद चर्किँदै झडपको अवस्था सिर्जना भएको हो।
निवर्तमान सभापति यादवलाई पार्टीको केन्द्रीय अनुशासन विभागले कारबाही गरेपछि उपसभापति मनोज भट्टलाई कार्यवाहक जिल्ला सभापतिको जिम्मेवारी दिइएको थियो।
मंगलबार भट्ट समूहका केही समर्थक पार्टी कार्यालय खोल्न पुगेपछि दुई समूहबीच चर्को विवाद र नाराबाजी भएको थियो। कार्यवाहक सभापति भट्टले आफूलाई पार्टी सभापति गगन थापाको निर्देशनमा जिम्मेवारी दिइएको दाबी गरेका छन्।
भट्टका अनुसार कार्यवाहक सभापतिको जिम्मेवारी पाएपछि पार्टी कार्यालयका कागजपत्र तथा भवनको बरबुझारथ लिन जाँदा अर्को समूहले कागजपत्र दिन अस्वीकार गरेको थियो। उनले आफूलाई सभापति स्वीकार नगर्ने भन्दै कार्यालय खाली गर्नसमेत नमानेको बताएका छन्।
भोलि साउन ६ गते बीपी कोइरालाको जन्मजयन्तीका अवसरमा आयोजना हुने कार्यक्रमको पूर्वतयारीका क्रममा विवाद उत्पन्न भएको बताइएको छ। निवर्तमान सभापति राजेश राय यादवले भने आफू छलफलमा रहेकाले यस विषयमा पछि कुरा गर्ने प्रतिक्रिया दिएका छन्।
पार्टी कार्यालय प्रवेश गर्न रोक लगाएपछि दुई समूहबीच ढुङ्गामुढासमेत भएको बताइएको छ। प्रत्यक्षदर्शीले घटनाका क्रममा प्रहरी प्रशासन मूकदर्शक बनेको आरोप लगाएका छन्।
चर्को विवाद, धकेलाधकेल र झडपका क्रममा केही कार्यकर्ता सामान्य घाइते भएका छन्। हाल दुवै समूहबीच विवाद समाधानका लागि छलफल भइरहेको जनाइएको छ।










