जानकी मन्दिर प्रवेशको विषयमा विवाद, हर्क साम्पाङले दिए यस्तो प्रतिक्रिया

कोल्हवी न्यूज
२०८३ श्रावण ५, मंगलवार १६:२७ गते

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा श्रम संस्कृति पार्टीका नेता–कार्यकर्ता र हिन्दु सम्राट सेनाका कार्यकर्ताबीच तनाव उत्पन्न भएपछि पार्टी अध्यक्ष हर्कराज साम्पाङले कडा प्रतिक्रिया दिएका छन्।

साम्पाङले आफू जानकी मन्दिरको गेटसम्म नपुगी फर्किएको बताउँदै आफ्ना समर्थकमाथि भएको भनिएको दुर्व्यवहारलाई आफूलाई गरिएको अपमानका रूपमा लिएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘म बाटैमा थिएँ। म गेटमा पुगेको थिइनँ। तर श्रमदातालाई अपमान गर्नु नै मलाई अपमान गर्नु हो।’

साम्पाङले आफूलाई गरिने हरेक अपमानप्रति धन्यवाद व्यक्त गर्दै सबै देवीदेवता र भगवानप्रति सम्मान प्रकट गरेका छन्। आफ्ना समर्थकमाथि दुर्व्यवहार भएपछि आफूले जानकी मन्दिरको दर्शन गर्न नसकेको दाबी गर्दै उनले कुनै दिन जानकी देवीले दर्शन दिने विश्वाससमेत व्यक्त गरेका छन्।

गाईको विषयलाई लिएर आफूविरुद्ध राजनीति गर्न खोजिएको आरोप लगाउँदै साम्पाङले प्रश्नसमेत उठाएका छन्। उनले गाई खाने व्यक्तिलाई मन्दिर प्रवेश गर्न नदिने भनिएको विषयमा आफूले सुनेको भन्दै यस्तो राजनीति कसले गर्न खोजेको हो भन्ने प्रश्न गरेका छन्।

यसअघि मंगलबार साम्पाङलाई स्वागत गर्न जानकी मन्दिर परिसर पुगेका श्रम संस्कृति पार्टीका नेता तथा कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले त्यहाँबाट हटाएपछि दुई पक्षबीच तनाव सिर्जना भएको थियो।

साम्पाङ पार्टीको साधारणसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन जनकपुरधाम पुगेका थिए। मन्दिर दर्शनको तयारी भइरहेका बेला उनका समर्थक र हिन्दु सम्राट सेनाका कार्यकर्ताबीच विवाद भएको बताइएको छ।

हिन्दु सम्राट सेनाले साम्पाङले विगतमा गाईसम्बन्धी विवादास्पद अभिव्यक्ति दिएको आरोप लगाउँदै उनको जनकपुर आगमनको विरोध गरेको थियो। सेनाले उनलाई जानकी मन्दिर प्रवेश गर्न नदिने चेतावनीसमेत दिएको थियो।

घटनापछि साम्पाङले गृहमन्त्रीसँग सम्पर्क गर्न खोज्दा फोन बन्द रहेको दाबी गर्दै आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई संयमित रहन आग्रह गरेका छन्। घटनाका कारण जानकी मन्दिर आसपास केही समय तनावको अवस्था सिर्जना भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*