कोलकाताबाट पहिलो कार्गो रेल विराटनगर आइपुग्यो, पूर्वी उद्योगीमा उत्साह

कोल्हवी न्यूज
२०८३ श्रावण ४, सोमबार १६:२४ गते

नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात गरिएका मालसामान बोकेर कोलकाताबाट छुटेको पहिलो कार्गो रेल तीन दिनको यात्रापछि विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) को नेपाल कस्टम यार्डमा आइपुगेको छ।

भारतीय रेलमार्फत सिधै विराटनगर भन्सारसम्म कार्गो रेल सञ्चालनमा आएपछि पूर्वी नेपालका उद्योगी तथा व्यवसायीहरू उत्साहित भएका छन्। गत शुक्रबार कोलकाता बन्दरगाहबाट विशेष समारोहबीच बिदाइ गरिएको रेलमा स्वस्तिक आयल इन्डस्ट्रिजका लागि आयात गरिएको कच्चा पदार्थ बोकेका ४० फिट क्षमताका ४० वटा कन्टेनर रहेका थिए।

ढुवानीको सुरक्षा र पारदर्शिता सुनिश्चित गर्न सबै कन्टेनरमा आधुनिक इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (ECTS) जडान गरिएको छ। सेवा पूर्णरूपमा सञ्चालनमा आएपछि एकपटकमा ४५ वटासम्म ठूला कन्टेनर रेलमार्फत सिधै विराटनगर ल्याउन सकिने जनाइएको छ।

यो मार्ग २०८० जेठमै उद्घाटन भए पनि नीतिगत जटिलताका कारण सञ्चालनमा आउन सकेको थिएन। भारत सरकारको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्ड (CBIC) ले आवश्यक नियम संशोधन गरेपछि भने सेवा औपचारिक रूपमा सञ्चालनमा आएको हो।

यसअघि वीरगञ्जमा मात्र उपलब्ध रहेको सुविधा अब विराटनगरसम्म विस्तार हुँदा सडकमार्गको तुलनामा ढुवानी खर्च करिब ४० प्रतिशतसम्म घट्ने अनुमान गरिएको छ। साथै बथनाहा स्टेसनमा दोहोरो लोड–अनलोड गर्नुपर्ने बाध्यता हट्दा समय र लागत दुवै बचत हुने व्यवसायीहरूको विश्वास छ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र उद्योग संगठन मोरङका पदाधिकारीहरूले यो सेवालाई पूर्वी नेपालको औद्योगिक विकासका लागि महत्वपूर्ण उपलब्धि बताएका छन्। यद्यपि विराटनगर कस्टम यार्डमा सुरक्षित भण्डारण र व्यवस्थित पूर्वाधार निर्माण गर्न सके मात्र सेवाको प्रभावकारिता अझ बढ्ने उनीहरूको भनाइ छ।-नेपाल खबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*