बाराका ६ स्थानीय तहमा भूमिहीनका लागि ३५ दिने आवेदन आह्वान

कोल्हवी न्यूज
२०८३ श्रावण ४, सोमबार १६:०४ गते

बारा । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिले बाराका ६ स्थानीय तहमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका लागि जग्गा प्राप्ति तथा व्यवस्थापनको उद्देश्यले ३५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ।

समितिले साउन ४ गते सार्वजनिक सूचना जारी गर्दै तोकिएको ढाँचाको निवेदन फाराम भरी सम्बन्धित स्थानीय तहमा खटिएका लगत सङ्कलकमार्फत आवेदन पेस गर्न आग्रह गरेको हो। समितिका अनुसार दोस्रो पटक सूचना प्रकाशित भइसकेका स्थानीय तहका लागि भने यो नै अन्तिम अवसर हुनेछ।

सूचनाअनुसार बारामा सिम्रौनगढ नगरपालिका, परवानीपुर गाउँपालिका, देवताल गाउँपालिका, विश्रामपुर गाउँपालिका, करैयामाई गाउँपालिका र कलैया उपमहानगरपालिका यस कार्यक्रम अन्तर्गत समेटिएका छन्।

समितिले लक्षित वर्गका सबै योग्य नागरिकलाई सूचना जारी भएको मितिले ३५ दिनभित्र आवश्यक विवरणसहित आवेदन बुझाउन आग्रह गरेको छ। तोकिएको समयभित्र आवेदन नदिए पुनः अवसर नपाइने भएकाले समयमै प्रक्रिया पूरा गर्न सम्बन्धित सबैमा अनुरोध गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*