बैंकिङ प्रणालीमा ११ महिनामै ७ खर्ब ४८ अर्बभन्दा बढी निक्षेप थपियो

कोल्हवी न्यूज
२०८३ श्रावण ३, आईतवार १७:०४ गते

चालु आर्थिक वर्षको पहिलो ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप सङ्कलन उल्लेखनीय रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म बैंकिङ प्रणालीमा कुल निक्षेप ८० खर्ब १२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार ११ महिनामा निक्षेप १०.३ प्रतिशतले वृद्धि भएको हो । यस अवधिमा मात्रै बैंकिङ प्रणालीमा ७ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ नयाँ निक्षेप थपिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निक्षेप वृद्धि ८ प्रतिशतमा सीमित थियो ।

जेठ मसान्तसम्म कुल निक्षेपमा बचत निक्षेपको हिस्सा ४६.६ प्रतिशत रहेको छ । त्यस्तै, मुद्दती निक्षेपको हिस्सा ३७.३ प्रतिशत र चल्ती निक्षेपको हिस्सा ६.९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा बचत निक्षेपको हिस्सा ३६.२ प्रतिशत, मुद्दती निक्षेप ५०.२ प्रतिशत र चल्ती निक्षेप ५.७ प्रतिशत थियो । यसले बैंकमा बचत निक्षेपतर्फ ग्राहकको आकर्षण बढ्दै गएको देखाएको छ ।

कुल निक्षेपमा संस्थागत निक्षेपको हिस्सा भने घटेको छ । अघिल्लो वर्ष ३५.५ प्रतिशत रहेको संस्थागत निक्षेपको हिस्सा यस वर्ष ३३.७ प्रतिशतमा झरेको छ ।

राष्ट्र बैंकका अनुसार वार्षिक आधारमा २०८३ जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप १५ प्रतिशतले बढेको छ । निक्षेपमा भएको वृद्धिले बैंकहरूको स्रोत परिचालन क्षमता बलियो बनेको र आगामी दिनमा कर्जा प्रवाहका लागि आवश्यक स्रोत व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*