गौर भन्सारले लक्ष्यभन्दा ४१ प्रतिशत बढी राजस्व उठायो
रौतहट । जिल्ला भन्सार कार्यालय गौरले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यभन्दा ४१.१४ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ।
कार्यालयका अनुसार गत आर्थिक वर्षमा ३३ करोड २९ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा ४६ करोड ९९ लाख रुपैयाँ सङ्कलन भएको हो। लक्ष्यको तुलनामा कार्यालयले करिब १३ करोड ७० लाख रुपैयाँ बढी राजस्व उठाएको छ।
जिल्ला भन्सार कार्यालय गौरका प्रमुख विकासकुमार रजकले प्रभावकारी राजस्व व्यवस्थापन, आयात कारोबारमा वृद्धि, चुहावट नियन्त्रण र नियमित अनुगमनका कारण लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको बताए।
कार्यालयले साउनमा २ करोड ७७ लाख, भदौमा २ करोड ४७ लाख, असोजमा २ करोड २८ लाख, कात्तिकमा २ करोड २६ लाख र मङ्सिरमा ४ करोड ३७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो।
त्यसैगरी पुसमा ५ करोड ६२ लाख, माघमा ३ करोड ३६ लाख, फागुनमा २ करोड ७९ लाख, चैतमा ४ करोड ७३ लाख, वैशाखमा ५ करोड २३ लाख, जेठमा ५ करोड २१ लाख र असारमा ५ करोड ९४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।
राजस्व सङ्कलनसँगै चोरी निकासी तथा पैठारी नियन्त्रणमा पनि कार्यालयले उल्लेखनीय काम गरेको जनाएको छ। आर्थिक वर्षभरि भन्सार गस्ती टोलीले ११ लाख २६ हजार ६९४ रुपैयाँ बराबरका २२ वटा मुद्दा दर्ता गरेको छ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपालले ४ करोड ५ लाख १९ हजार ११० रुपैयाँ बराबरका ४८१ वटा तथा नेपाल प्रहरीले ५ करोड ५५ लाख १८ हजार १०६ रुपैयाँ बराबरका १५१ वटा चोरी निकासी तथा पैठारीसम्बन्धी मुद्दा दर्ता गराएको कार्यालयले जनाएको छ।
चोरी पैठारीका क्रममा बरामद गरिएका मालवस्तु तथा सवारी साधनको लिलाम बिक्रीबाट पनि कार्यालयले थप राजस्व सङ्कलन गरेको छ। कार्यालयका अनुसार १ करोड ६९ हजार ६७४ रुपैयाँ बराबरका मालवस्तु र १ करोड ३३ लाख १४ हजार ९७५ रुपैयाँ बराबरका सवारी साधन लिलाम बिक्री गरिएको छ।
सीमाक्षेत्रमा निगरानी बढाउनु, राजस्व चुहावट नियन्त्रणमा कडाइ गर्नु तथा सुरक्षा निकायसँगको समन्वय प्रभावकारी बनाउनु उपलब्धिको मुख्य कारण रहेको भन्सार कार्यालयले जनाएको छ।










