देवाही गोनाही नगरपालिकाको बन्दसत्रमा स्थानीय पत्रकार सागर संगम ठाकुर सम्मानित
रौतहट।,रौतहटको देवाही गोनाही नगरपालिकाले १३औँ नगरसभाको बन्दसत्रका अवसरमा स्थानीय पत्रकार सागर संगम ठाकुरलाई सम्मान गरेको छ। नगरपालिकाले पत्रकारिता क्षेत्रमार्फत सत्य, तथ्य, निष्पक्ष तथा जनमुखी समाचार सम्प्रेषण गर्दै सूचना, शिक्षा र जनचेतना अभिवृद्धिमा पुर्याएको उल्लेखनीय योगदानको उच्च कदर गर्दै ठाकुरलाई सम्मानपत्रसहित सम्मान गरेको हो।
नगर प्रमुख प्रेमलाल साह तथा प्रमुख प्रशासकीय अधिकृत पवन कुमार केसरीले संयुक्त रूपमा सम्मानपत्र प्रदान गर्दै पत्रकार ठाकुरको व्यावसायिक निष्ठा, निष्पक्ष पत्रकारिता र सञ्चारकाे क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए।
सम्मान समारोहमा नगर प्रमुख प्रेमलाल साहले पत्रकार सागर संगम ठाकुरले देवाही गोनाही नगरपालिकाभित्र सञ्चालन भएका विकास निर्माणका गतिविधि,जनप्रतिनिधिहरूका कामकारबाही,सार्वजनिक सेवा प्रवाह तथा स्थानीय जनसरोकारका विषयलाई निरन्तर रूपमा सञ्चारमाध्यममार्फत स्थानीयदेखि राष्ट्रिय स्तरसम्म पुर्याउँदै आएको उल्लेख गरे।
उनले यस्ता समाचारले नगरपालिकाका गतिविधिलाई आम नागरिकसमक्ष पारदर्शी रूपमा पुर्याउन र स्थानीय सरकारप्रति नागरिकको विश्वास अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए।
नगरपालिकाले सम्मानपत्रमार्फत पत्रकार ठाकुरको सक्रियता, व्यावसायिक निष्ठा तथा सञ्चार क्षेत्रको विकासमा पुर्याएको अतुलनीय योगदानको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा पनि सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारितामार्फत समाज र राष्ट्रको हितमा अझ उत्कृष्ट कार्य सम्पादन गर्न शुभकामना व्यक्त गरेको छ।
लामो समयदेखि रौतहटका विभिन्न स्थानीयतहका मुद्दा, विकास निर्माण,शिक्षा,स्वास्थ्य,कृषि,सामाजिक गतिविधि तथा जनसरोकारका विषयमा सक्रिय रूपमा कलम चलाउँदै आएका पत्रकार ठाकुरलाई गरिएको सम्मानले स्थानीय पत्रकारिताको योगदानप्रति नगरपालिकाले दिएको सम्मान र विश्वासलाई थप बल पुगेको सहभागीहरूले बताएका छन्।
सम्मान कार्यक्रममा उपप्रमुख परनिया देवी पटेल,प्रमुख प्रशासकीय अधिकृत पवन कुमार केसरी,वडा नं.१ देखि ९ सम्मका वडा अध्यक्षहरू,कार्यपालिका सदस्यहरू,नगरसभा सदस्यहरू, इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी निरीक्षक तेजप्रसाद भट्टराई, सशस्त्र प्रहरी बेस क्याम्प देवाहीका प्रतिनिधि,सञ्चारकर्मी रामानन्द साह तथा नगरपालिकाका विभिन्न शाखाका प्रमुख र कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।










