नक्कली भुटानी शरणार्थी प्रकरणः रायमाझीलाई ४ वर्ष, खाणलाई २ वर्ष कैद
काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका व्यक्तिहरूको सजाय निर्धारण गरेको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई एकीकृत रूपमा ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना हुने फैसला सुनाएको हो।
अदालतले रायमाझीलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको थियो। विभिन्न कसुरमा छुट्टाछुट्टै सजाय निर्धारण गरिए पनि एकीकृत रूपमा उनलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना तोकिएको छ।
यस्तै, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई एकीकृत रूपमा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबानाको फैसला सुनाइएको छ। उनी ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर भएका हुन्।
यसै प्रकरणका मुख्य योजनाकार मानिएका केशवप्रसाद दुलाल र सानु भण्डारीलाई पनि एकीकृत रूपमा ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना तोकिएको छ। उनीहरू सरकारी लिखत किर्ते, ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा दोषी ठहर भएका हुन्।
त्यस्तै, इन्द्रजित राईलाई पनि ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना निर्धारण गरिएको छ भने टेकनाथ रिजाललाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबानाको सजाय सुनाइएको अदालतले जनाएको छ।










