तीन महिनामै उस्तै बन्यो जनकपुरको फुटपाथ, सडक अतिक्रमण फेरि बढ्यो

कोल्हवी न्यूज
२०८३ असार ३०, मंगलवार १५:४२ गते

मधेस प्रदेशका गृहमन्त्री फकिरा महतोको पहलमा तीन महिनाअघि अतिक्रमणमुक्त बनाइएका जनकपुरधामका मुख्य सडक पेटी र फुटपाथ फेरि व्यापारीका ठेला तथा पसलले भरिन थालेका छन्। यसले पैदलयात्री, सवारी चालक र धार्मिक पर्यटकलाई पुनः सास्ती खेप्नुपर्ने अवस्था सिर्जना गरेको छ।

गृहमन्त्री महतो स्वयं फिल्डमा खटिएर जानकी मन्दिर आसपास, अस्पताल रोड, रामानन्द चोक, शिव चोक, जनक चोक र पिडारी चोकका फुटपाथ खाली गराएका थिए। त्यसबेला सडक क्षेत्र व्यवस्थित बनेपछि आवागमन सहज भएको थियो। तर पछिल्लो समय ती स्थानमा पुनः अतिक्रमण बढ्दै गएको स्थानीयको गुनासो छ।

स्थानीयका अनुसार अहिले अस्पताल रोड, रामानन्द चोक र पिडारी चोकमा फलफूल तथा तरकारीका ठेलाले सडकको ठूलो भाग ओगटेका छन्। फुटपाथ प्रयोग गर्न नसकेपछि पैदलयात्री मुख्य सडकबाट हिँड्न बाध्य छन् भने दैनिकजसो सवारी जामको समस्या पनि बढेको छ।

स्थानीय ई–रिक्सा चालक रामलाल पासवानले सुरुवात गरिएको अभियानलाई निरन्तरता दिन नसक्नु सरकारकै कमजोरी भएको टिप्पणी गरेका छन्। अन्य स्थानीयले पनि एकपटक सफल भएको कामलाई नियमित अनुगमन र व्यवस्थापन गर्न नसकिएको बताएका छन्।

यता मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले भने जनकपुरधाम उपमहानगरपालिकाको असहयोगका कारण सडक व्यवस्थापन अभियान प्रभावकारी रूपमा अघि बढ्न नसकेको दाबी गरेको छ। मन्त्रालयका प्रवक्ताले स्थानीय तहसँग आवश्यक समन्वय नहुँदा अभियानलाई निरन्तरता दिन कठिन भएको बताएका छन्।

स्थानीयवासीले भने प्रदेश सरकार र स्थानीय तहबीचको समन्वय अभावको प्रत्यक्ष असर सर्वसाधारणले भोग्नुपरेको भन्दै दीर्घकालीन समाधानको माग गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*