कोशी, बागमती र गण्डकीमा भारी वर्षाको चेतावनी
देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू-भाग नजिक रहेको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। लुम्बिनी प्रदेशको पहाडी भू-भागमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
रातिको समयमा पनि देशभर बदली रहनेछ। मधेससहित कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना छ। कोशी प्रदेशको तराई र गण्डकी प्रदेशको पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने मौसमविद्को अनुमान छ।
विभागले भारी वर्षा हुने क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव र भू-क्षयको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले विभागबाट जारी हुने पछिल्ला मौसम सूचनामा नियमित अद्यावधिक रहन अनुरोध गरिएको छ।










