आठ महिनाकै न्यून बिन्दुमा नेप्से, ३०.६० अंकको गिरावट

कोल्हवी न्यूज
२०८३ असार २९, सोमबार १५:३१ गते

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब आठ महिनायताकै न्यून स्तरमा झरेको छ। व्यापक बिक्री दबाबका कारण नेप्से ३०.६० अंकले घटेर २५७० अंकमा कायम भएको हो, जुन गत मंसिर ४ गतेपछि पहिलो पटक यो स्तरमा पुगेको हो।

बजार परिसूचकमा उल्लेख्य गिरावट आए पनि लगानीकर्ताको सक्रियता भने बढेको देखिएको छ। अघिल्लो कारोबार दिन ६ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ७ अर्ब ४६ करोड रुपैयाँको सेयर किनबेच भयो। यो कारोबार रकम वैशाख ९ यताकै उच्च मानिएको छ।

कारोबार अवधिभर बजार राताम्य रहँदा २२ कम्पनीको शेयर मूल्य बढेको, २४९ कम्पनीको घटेको र ४ कम्पनीको मूल्य स्थिर रहेको थियो। सबै समूहगत सूचक ओरालो लागेका छन्, जसमा व्यापार समूह सबैभन्दा बढी २.३० प्रतिशतले घटेको छ।

यस्तै, होटल तथा पर्यटन १.९९ प्रतिशत, जलविद्युत् १.९८ प्रतिशत, उत्पादन तथा प्रशोधन १.३६ प्रतिशत, फाइनान्स १.३२ प्रतिशत, जीवन बीमा १.०७ प्रतिशत, लगानी ०.८८ प्रतिशत, माइक्रोफाइनान्स ०.८७ प्रतिशत, अन्य ०.८५ प्रतिशत, विकास बैंक ०.८३ प्रतिशत, निर्जीवन बीमा ०.७५ प्रतिशत र बैंकिङ समूह ०.६८ प्रतिशतले घटेका छन्।

व्यक्तिगत कम्पनीतर्फ सामुदायिक लघुवित्तको शेयर मूल्य ५.३७ प्रतिशत र आत्मनिर्भर लघुवित्तको ५ प्रतिशतले बढेको छ। विपरीत, उपकार लघुवित्तको शेयर मूल्य ११.२८ प्रतिशतले घट्दै सबैभन्दा धेरै गुमाउने कम्पनी बन्यो।

त्यसैगरी बुद्धभूमि हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, हिमस्टार ऊर्जा र टक्सार पिखुवाखोला हाइड्रोपावरको शेयर मूल्यमा पनि उल्लेख्य गिरावट देखिएको छ। कारोबार रकमका आधारमा भने ऋणपत्र (डिबेन्चर) हरू अग्रस्थानमा रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*