न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल फेरि उत्कृष्ट, ८९ अंकसहित देशकै उत्कृष्ट सङ्घीय अस्पताल

कोल्हवी न्यूज
२०८३ असार १५, सोमबार १५:४१ गते

भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्याङ्कनमा लगातार उत्कृष्ट बनेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमनमा अस्पतालले ८९ अंक प्राप्त गर्दै देशका सङ्घीय अस्पतालमध्ये पहिलो स्थान हासिल गरेको हो।

मूल्याङ्कनअनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान ७७ अंकसहित दोस्रो र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ७१ अंकसहित तेस्रो स्थानमा रहेका छन्। पाटन अस्पतालको मूल्याङ्कन प्रक्रिया भने जारी रहेको मन्त्रालयले जनाएको छ।

गुणस्तर मापन तथा नियमन महाशाखाका संयोजक डा. श्रीराम तिवारीका अनुसार देशभरका १४ वटा सङ्घीय अस्पतालको सेवा प्रवाहको मूल्याङ्कन गर्दा भरतपुर अस्पताल सबैभन्दा उत्कृष्ट देखिएको हो। अस्पतालको सेवा गुणस्तर मूल्याङ्कनका लागि एक हजार ४९७ सूचकका आधारमा परीक्षण गरिएको थियो।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा अस्पतालले सेवा प्रवाहमा थप सुधार गरेको बताए। गत वर्ष पनि अस्पतालले ८८ अंकसहित उत्कृष्ट स्थान हासिल गरेको थियो।

उनका अनुसार बिरामीले पाउने सेवा, अस्पतालका उपकरण, कार्यतालिका, सरसफाइ, औषधिको उपलब्धता तथा जनशक्ति व्यवस्थापनलगायत सबै क्षेत्रमा सुधार गर्दै सेवा गुणस्तर उकासिएको छ।

हाल ६ सय शय्याको भरतपुर अस्पतालमा दैनिक दुई हजार ५०० देखि तीन हजारसम्म बिरामीले बहिरङ्ग सेवा लिने गरेका छन्। अस्पतालले १४ प्रकारका अतिविशिष्ट स्वास्थ्य सेवा सञ्चालन गरिरहेको छ। जिल्लाका निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द भएपछि बिमामार्फत उपचार गराउने बिरामीको चाप पनि अस्पतालमा बढेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*