समाचार खण्डन गराउन दबाब,प्रलोभन र गालीगलौजको आरोप : पत्रकार सुरज बिक्रम थापामाथि बारम्बार प्रहार
कोल्हबी–केही दिनअघि स्थानीय सञ्चार माध्यम बाराको गतिविधि मा प्रकाशित समाचारलाई लिएर कोल्हबी नगरपालिका वडा नं. ८ मा विवाद चर्किएको छ। उक्त समाचारमा सहकारीको नाममा रकम संकलन, विदेशमा रहेका युवासँग सदस्यता तथा विभिन्न योजनाको बहानामा पैसा उठाएको, साथै मिर्गौला पीडितका नाममा संकलित रकमको दुरुपयोग भएको विषय उठाइएको थियो।
समाचार प्रकाशन भएपछि आरोपको केन्द्रमा रहेका किशोर बस्नेत (लिला बहादुर बस्नेत) ले समाचार खण्डन गराउन विभिन्न माध्यमबाट दबाब सिर्जना गरेको आरोप लगाइएको छ। स्रोतका अनुसार समाचार हटाउन तथा खण्डन प्रकाशित गराउन बारम्बार प्रयास गरिएको थियो।
समाचार संकलन तथा प्रकाशनमा संलग्न पत्रकार सुरज बिक्रम थापा (शुरेश बिक्रम थापा) माथि समेत विभिन्न किसिमका दबाब आएको बताइएको छ। प्रारम्भिक चरणमा समाचार फिर्ता लिन वा खण्डन गर्न आग्रह गर्दै विभिन्न प्रस्ताव तथा प्रलोभन देखाइएको आरोप छ। तर पत्रकार थापाले समाचार तथ्य,प्रमाण र पीडित पक्षबाट प्राप्त विवरणका आधारमा तयार पारिएको भन्दै त्यस्तो प्रस्ताव अस्वीकार गरेको जनाइएको छ।
सञ्चारकर्मी निकट स्रोतका अनुसार आरोपित पक्षलाई समाचारमा उठाइएका विषयमा आफ्नो धारणा राख्ने अवसर दिइए पनि प्रकाशित सामग्रीलाई आधारहीन रूपमा खण्डन गर्न नमिल्ने स्पष्ट जवाफ दिइएको थियो। त्यसपछि स्थिति थप तनावपूर्ण बन्दै गालीगलौज, व्यक्तिगत आक्षेप र अमर्यादित अभिव्यक्तिसम्म पुगेको आरोप लगाइएको छ।
स्थानीय सरोकारवालाहरूले कुनै समाचारप्रति असहमति भए कानुनी प्रक्रिया,तथ्यगत जवाफ वा आफ्नो धारणा सार्वजनिक गर्न सकिने भए पनि सञ्चारकर्मीमाथि दबाब, धम्की वा दुर्व्यवहार गर्नु लोकतान्त्रिक अभ्यासविपरीत भएको बताएका छन्।उनीहरूको भनाइमा प्रेस स्वतन्त्रताको सम्मान गर्दै तथ्यको आधारमा उठाइएका प्रश्नको जवाफ तथ्यबाटै दिनुपर्छ।
यस घटनाले सहकारीको नाममा रकम संकलन,वैदेशिक रोजगारीमा रहेका युवाबाट उठाइएको रकमको अवस्था तथा मिर्गौला पीडितका लागि संकलित सहयोग रकमको पारदर्शितामाथि थप प्रश्न खडा गरेको स्थानीयवासीको भनाइ छ।पीडितहरूले सम्बन्धित निकायबाट निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषी देखिए कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्।
पत्रकारिता क्षेत्रसँग आबद्ध व्यक्तिहरूले पनि सत्यतथ्यमा आधारित समाचार प्रकाशन गरेकै कारण कुनै सञ्चारकर्मीमाथि दबाब, प्रलोभन,धम्की वा गालीगलौज हुनु निन्दनीय विषय भएको बताएका छन्। उनीहरूले प्रेस स्वतन्त्रताको संरक्षण गर्दै यस्ता घटनाप्रति सम्बन्धित निकायले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्।कोल्हवी न्युजले यश बिषयमा थप बुज्न किशोर बस्नेत संग सम्पर्क गर्न खोज्दा निजको मोबाईल आईतवार १ बजे स्विच अफ रहेको थियो।










