ओली, प्रचण्ड र माधव नेपाल आज एक सार्वजनिक कार्यक्रममा सँगै देखिने

कोल्हवी न्यूज
२०८३ असार १४, आईतवार ०७:२० गते

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आज आयोजना हुने राष्ट्रिय गोष्ठीमा देशका प्रमुख कम्युनिस्ट नेताहरू एउटै मञ्चमा उपस्थित हुने भएका छन्। पछिल्लो समय फरक–फरक राजनीतिक धारमा सक्रिय रहेका नेताहरूको साझा उपस्थितिले कार्यक्रमलाई विशेष महत्व दिएको छ।

मदन भण्डारी फाउण्डेसनले राष्ट्रिय सभागृहमा आयोजना गरेको ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक गोष्ठीको प्रमुख आतिथ्यता पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ।

गोष्ठीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने तय भएको छ।

मदन भण्डारीको राजनीतिक विचार, योगदान र नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्थाबारे केन्द्रित हुने कार्यक्रममा विभिन्न दलका शीर्ष नेताहरूले एउटै मञ्चबाट आफ्नो धारणा राख्नेछन्।

यसअघि विराटनगरमा आयोजित कार्यक्रममा प्रचण्डले समाजवादी मोर्चामा आबद्ध दलहरूबीच एकता र एमालेसँग सहकार्यको सम्भावनाबारे दिएको अभिव्यक्तिपछि आजको साझा उपस्थितिलाई राजनीतिक रूपमा पनि अर्थपूर्ण रूपमा हेरिएको छ। त्यसैले नेताहरूले कार्यक्रममा व्यक्त गर्ने भनाइप्रति राजनीतिक वृत्तको विशेष चासो रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*