‘क्यान्सर निको भएपछि पनि सामान्य जीवन सम्भव’

कोल्हवी न्यूज
२०८३ असार ९, मंगलवार ०६:३५ गते

सूर्यविनायक नगरपालिकाले क्यान्सर रोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले एकदिने सचेतना तथा उत्प्रेरणा कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा क्यान्सर पराजित गरी सामान्य जीवनयापन गरिरहेका व्यक्तिहरू, उपचाररत बिरामी तथा स्वास्थ्यकर्मीबीच अनुभव आदानप्रदान गरिएको थियो।

नेपाल क्यान्सर सर्भाइभर सोसाइटीको समन्वयमा सम्पन्न कार्यक्रममा सहभागीहरूले क्यान्सर निको भएपछि गर्भधारण गर्न सकिने वा नसकिने, रोग पुनः दोहोरिन सक्ने सम्भावना तथा उपचारपछि सामान्य जीवनयापनका विषयमा जिज्ञासा राखेका थिए।

कार्यक्रममा उज्ज्वल चालिसे ले क्यान्सर रोग समयमै पत्ता लागे उपचारबाट निको हुन सक्ने बताउँदै चौथो चरणमा पुगेपछि जटिलता बढ्ने जानकारी दिए। उनले क्यान्सर निको भएपछि व्यक्तिले पुरानै जीवनशैलीमा फर्किएर सहज रूपमा जीवनयापन गर्न सक्ने बताए।

डा. चालिसेका अनुसार क्यान्सर निको भइसकेपछि गर्भधारण गर्न र सन्तान जन्माउन समेत सम्भव छ। उनले रोग लागेपछि डराएर बस्नुभन्दा नियमित उपचार, चिकित्सकीय परामर्श र परीक्षणलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। साथै गाउँगाउँसम्म क्यान्सरबारे सचेतना फैलाउन आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराई ले क्यान्सरमाथि विजय प्राप्त गरेका व्यक्तिहरू समाजका लागि प्रेरणाको स्रोत बनेको बताइन्। यस्ता कार्यक्रमले उपचाररत बिरामीमा आशा र आत्मविश्वास बढाउनुका साथै परिवार, समुदाय र स्वास्थ्य संस्थाबीच सहकार्यको वातावरण निर्माण गर्ने उनको भनाइ थियो।

नगरपालिकाको सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटा ले क्यान्सरलाई केवल शारीरिक रोगका रूपमा मात्र नभई मानसिक, सामाजिक र आर्थिक पक्षसँग पनि जोडिएको विषयका रूपमा बुझ्नुपर्ने आवश्यकता औँल्याए।

स्वास्थ्य शाखा प्रमुख वसन्त चौलागाईं का अनुसार सूर्यविनायक नगरपालिकामा हाल करिब २४० जना क्यान्सर प्रभावित व्यक्ति विभिन्न सहायता तथा सेवाबाट लाभान्वित भइरहेका छन्। कार्यक्रममा उपचाररत तथा क्यान्सरमुक्त जीवन बिताइरहेका नगरवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*