महाधिवेशनअघि रास्वपाको कडाइ: आचारसंहिताभन्दा बाहिर प्रचार नगर्न नेताहरूलाई निर्देशन
आगामी प्रथम महाधिवेशनको तयारीलाई तीव्र बनाइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेतृत्व चयनको प्रतिस्पर्धामा रहेका नेता तथा सदस्यहरूलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ।
बिहीबार बनस्थलीस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले महाधिवेशन केन्द्रित प्रचार गतिविधि अपेक्षाभन्दा बढी हुन थालेको निष्कर्ष निकाल्दै सबै आकांक्षीलाई संयमित, मर्यादित र संस्थागत ढंगले चुनावी प्रक्रियामा सहभागी हुन आग्रह गरेको हो।
पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटी ले सदस्यहरूबीच अनावश्यक मतभेद र गुटगत प्रभाव बढ्न नदिन आचारसंहिताको कडाइका साथ कार्यान्वयन गरिने जानकारी दिए। उनका अनुसार पार्टीको एकता र अनुशासनलाई प्राथमिकतामा राखेर महाधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको छ।
बैठकले महाधिवेशनको निर्वाचन प्रक्रिया विद्युतीय भोटिङ मेसिनमार्फत सञ्चालन गर्ने तयारी अघि बढाएको पनि जनाएको छ। त्यस्तै, विधान संशोधनका प्रस्तावहरू केन्द्रीय समितिमा पठाउने निर्णय गरिएको छ। हाल केन्द्रीय समितिलाई १५१ सदस्यीय बनाउने तथा प्रदेश सभापतिहरूलाई पदेन सदस्यको हैसियत दिने विषयमा समेत छलफल चलिरहेको छ।
रास्वपाले महाधिवेशन प्रतिनिधिका लागि लेवी भुक्तानी अनिवार्य गरेको छ। पार्टीले लेवी नतिरेका प्रतिनिधिलाई महाधिवेशनमा सहभागी हुन नदिने स्पष्ट निर्णय गरेको जनाएको छ।
पार्टीका अनुसार महाधिवेशनमा करिब २ हजार ५ सयदेखि ३ हजारसम्म प्रतिनिधिको सहभागिता रहने अनुमान छ। जिल्ला र प्रदेश समितिबाट पर्यवेक्षक खटाउने व्यवस्था समेत मिलाइएको छ।
रास्वपाको प्रथम महाधिवेशन असार ७, ८ र ९ गते चितवन मा आयोजना हुँदैछ, जहाँबाट पार्टीको नयाँ नेतृत्व चयन हुनेछ।










