नेपालमा अझै ४० हजारभन्दा बढी बालबालिका पूर्ण खोपबाट वञ्चित

कोल्हवी न्यूज
२०८३ जेष्ठ १४, बिहीबार १६:०९ गते

१४ जेठ — नेपालमा अझै पनि हजारौं बालबालिका पूर्ण खोपको पहुँचबाट बाहिर रहेका छन्। आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार सन् २०२५ मा ९२ प्रतिशत बालबालिकाले मात्रै पूर्ण खोप प्राप्त गरेका छन्। अघिल्लो वर्ष सन् २०२४ मा यो दर ९५.९ प्रतिशत रहेको थियो।

सरकारी तथ्यांकअनुसार नेपालमा खोप लिन योग्य करिब ५ लाख १० हजार बालबालिका छन्। यसमध्ये झण्डै ४० हजार ८ सय बालबालिका अझै पूर्ण खोपबाट वञ्चित रहेको देखिएको छ।

बाल स्वास्थ्य तथा खोप सेवा शाखा का अनुसार बालबालिकालाई १३ प्रकारका रोगविरुद्ध ९ वटा नियमित खोप दिइन्छ। बीसीजी, पोलियो, पेन्टाभ्यालेन्ट, रोटा भाइरस, निमोनिया, दादुरा–रुबेला, जापानिज इन्सेफलाइटिस तथा टाइफाइडविरुद्धका खोप नियमित कार्यक्रमअन्तर्गत समावेश छन्।

शाखा प्रमुख डा. अभियान गौतम ले पूर्ण खोपको दायरा केही घटेको देखिए पनि सरकारले नियमित खोप कार्यक्रमलाई प्राथमिकतामा राखिरहेको बताए। उनका अनुसार तथ्यांकमा देखिएको कमीको एउटा कारण लक्षित जनसंख्याको अनुमानमा अन्तर पर्नु पनि हो।

तर सर्वेक्षणका क्रममा केही बालबालिका वास्तवमै खोपबाट छुटेको तथ्य फेला परेको उनले स्वीकार गरे। “हाम्रो आफ्नै डाटामा पनि केही बच्चाले कुनै न कुनै खोप छुटाएको देखिएको छ,” उनले भने, “त्यसैले छुटेका बालबालिकालाई खोजेर खोप लगाउने अभियान सञ्चालन भइरहेको छ।”

स्वास्थ्य मन्त्रालयले सबै ७७ जिल्लालाई पत्राचार गर्दै स्थानीय तहसम्म पुगेर छुटेका बालबालिका पहिचान गर्न निर्देशन दिएको जनाएको छ।

नियमित खोप कार्यक्रममा वार्षिक रूपमा तीन अर्ब रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ। यस अभियानमा सरकारसँगै अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको समेत सहयोग रहने गरेको छ।

विशेषज्ञहरूका अनुसार खोप नपाएका बालबालिकामा रोगसँग लड्ने क्षमता कमजोर हुने, कुपोषणको जोखिम बढ्ने तथा जटिल संक्रमणका कारण मृत्युको सम्भावना समेत उच्च हुने गर्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*