बालबालिकामा पनि बढ्दै ‘ग्यास्ट्रिक’: एच प्योलोरी संक्रमण मुख्य कारण

कोल्हवी न्यूज
२०८२ माघ १७, शनिबार १६:३९ गते

सामान्यतया वयस्कसँग मात्र जोडिने ‘ग्यास्ट्रिक’ समस्या बालबालिकामा पनि बढ्दै गएको पाइएको छ। कान्ति बाल अस्पतालका बाल–पेटरोग विशेषज्ञ डा. सुमित अग्रवालका अनुसार बालबालिकामा देखिने ग्यास्ट्रिकको प्रमुख कारण ‘एच प्योलोरी’ नामक कीटाणुको संक्रमण हो, जुन बच्चा सानै उमेरदेखि शरीरमा रहन सक्छ।

डा. अग्रवालका अनुसार चिल्ला, पिरो तथा जंकफुडको अत्यधिक सेवनले यो संक्रमण सक्रिय भई ग्यास्ट्रिकको समस्या देखिने गर्छ। त्यस्तै, दुखाइ कम गर्ने ‘पेनकिलर’ औषधिको प्रयोगले पनि बालबालिकामा ग्यास्ट्रिक बढाउने गरेको छ।

वयस्कमा पेट दुख्ने, खाना नरुच्ने र मुखमा अमिलो आउने लक्षण देखिए जस्तै बालबालिकामा पनि मुखबाट अमिलो पानी आउने, बिहान–साँझ पेट दुख्ने, खाना खाएपछि बढी वा कम पेट दुख्ने, लगातार बान्ता हुने र पेट फुल्ने समस्या देखिने गर्छ। यस्तो अवस्था लामो समयसम्म रहँदा बच्चाको खाना खाने बानी घट्दै जाने र उपचार ढिला भए तौलसमेत घट्ने चिकित्सकको भनाइ छ।

समयमै उपचार नगरिए ग्यास्ट्रिकले जटिल रूप लिन सक्ने डा. अग्रवालले चेतावनी दिएका छन्। पेटको दुखाइ अत्यधिक भई मुखबाट रगत आउन सक्ने, सानो आन्द्राको भाग खुम्चिने तथा अल्सरजस्ता समस्या देखिन सक्ने उनको भनाइ छ।

कान्ति बाल अस्पतालमा दैनिक दुईदेखि तीन जना ग्यास्ट्रिक समस्या भएका बालबालिका आउने गरेको र हप्तामा एक–दुई जना रगत बान्ता गर्ने बिरामीसमेत उपचारका लागि आउने गरेको डा. अग्रवालले जानकारी दिए। हप्तामा तीनदेखि पाँच जनाको इन्डोस्कोपी गर्दा करिब ७५ प्रतिशत बालबालिकामा ‘एच प्योलोरी’ संक्रमण देखिने गरेको उनको अनुभव छ।

सामान्यतया १८ महिनादेखि १४ वर्षसम्मका बालबालिकामा यो संक्रमण देखिने गर्छ। सानै उमेरदेखि शरीरमा रहेको कीटाणुको लक्षण भने सात–आठ वर्षपछि मात्र प्रकट हुने डा. अग्रवाल बताउँछन्। उनका अनुसार दुई हप्तासम्म नियमित औषधि सेवन गरेमा ‘एच प्योलोरी’ संक्रमण पूर्ण रूपमा निको हुने गर्दछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*