रौतहटको निःशुल्क आँखा शिविरमा २५८ जनाले सेवा पाए, ६० जनामा मोतिबिन्दु पुष्टि
रौतहट,रौतहटको कटहरिया नगरपालिका वडा ४ स्थित टोलापुरमा शुक्रबार एकदिने निःशुल्क आँखा जाँच तथा उपचार शिविर भव्य रूपमा सम्पन्न भएको छ। वडा अध्यक्ष चन्दन कुशवाहाको विशेष पहल तथा तिलगंगा आँखा अस्पताल, निजगढ र नेत्र ज्योति संघ,गरुडा को समन्वयमा शिविर आयोजना गरिएको हो।
जाडो र बाक्लो हुस्सुजस्तो प्रतिकूल मौसमका बाबजुद पनि स्थानीयको उल्लेखनीय सहभागितासहित शिविर सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ। शिविरमा कुल २५८ जना सेवाग्राहीको आँखा जाँच गरिएको थियो, जसमध्ये ६० जनामा मोतिबिन्दु रोग पुष्टि भएको छ।
वडा अध्यक्ष कुशवाहाका अनुसार मोतिबिन्दु पुष्टि भएका सबै बिरामीहरूको निःशुल्क शल्यक्रिया तिलगंगा आँखा अस्पताल, निजगढमा गरिने व्यवस्था मिलाइएको छ।उनले भने,“जनस्वास्थ्यप्रति स्थानीय नेतृत्व जिम्मेवार हुनुपर्छ भन्ने मान्यताका साथ शिविर सञ्चालन गरिएको हो। आँखासम्बन्धी समस्या भएका सबै नगरवासीले यस्ता अवसरको अधिकतम सदुपयोग गर्नुपर्छ।”
शिविरमा आँखासम्बन्धी सामान्य परीक्षणदेखि आवश्यक उपचारसम्म पूर्ण रूपमा निःशुल्क सेवा प्रदान गरिएको थियो। आयोजकले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।










