आजदेखि पर्साका स्थानीय तहमै मतदाता नामावली दर्ता गराउन सकिने

कोल्हवी न्यूज
२०७८ मंसिर १७, शुक्रबार ०६:०१

पर्सामा आज (शुक्रबार) देखि मतदाता नामवली आफु बसिरहेकै ठाउँबाट दर्ता गराउन सकिने छ । निर्वाचन आयोगको निर्देशनबमोजिम जिल्ला निर्वाचन आयोग पर्साले बिहीबार एक सूचना जारी गर्दै मंसिर १७ गते भोलीदेखि पुष १८ गतेसम्म मतदाता नामावली दर्ता गराउन आग्रह गरेको छ ।

जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाद्वारा हस्ताक्षरित सूचनामा पर्सा जिल्लाका १४ वटा स्थानीय तहहरुमा ३ चरणमा मतदाता नामावली दर्ता गरिने उल्लेख गरिएको छ । जसमध्ये वीरगञ्ज महानगरपालिकाभित्र मंसिर १७ गतेदेखि पुष १८ गतेसम्म निरन्तर दर्ता भइरहनेछ ।

जिराभवनी गाउँपालिका, जगरनाथपुर गाउँपालिका, सखुवाप्रसौनी गाउँपालिका, कालिकामाई गाउँपालिका, पकाहमैनपुर गाउँपालिका, बहुदरमाई नगरपालिका र पोखरिया नगरपालिकामा मंसिर १७ गतेदेखि पुष २ गतेसम्म सम्बन्धीत स्थानीय तहको कार्यालयमै मतदाता नामावली दर्ता गरिने निर्वाचन अधिकारी झाले बताईन् । झाकाअनुसार पुष ४ गतेदेखि पुष १८ गतेसम्म ठोरी गाउँपालिका, धोबीनी गाउँपालिका, पर्सागढी नगरपालिका, छिपहरमाई गाउँपालिका, बिन्दवासिनी गाउँपालिका र पटेर्वासुगौली गाउँपालिकामा मतदाता नामावली दर्ता हुनेछ ।

मतदाता नामावली दर्ता गराउनका लागि नेपाली नागरिकताको सक्कल प्रमाण पत्र अनिवार्य ल्याउनुपर्नेछ । यस्तै नागरिकतामा उल्लेखित ठेगानाभन्दा अन्यत्र ठेगानामा दर्ता गराउँदा नेपाली नागरिकताको सक्कल प्रमाण पत्र र बसाईसराईको सक्कल प्रमाण पत्र ल्याउनुपर्नेछ । त्यसैगरी विवाह गरेर आएका महिलाको हकमा नेपाली नागरिकताको सक्कल प्रमाण पत्र र विवाह दर्ताको सक्कल प्रमाण पत्र आवश्यक पर्ने निर्वाचन अधिकारी झाले बताईन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*