रौतहटमा स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु
रौतहटको चन्द्रपुर नगरपालिका–मोतीपुरमा स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ।
बुधबार बिहान सिन्धुरेघारीबाट चन्द्रपुरतर्फ आउँदै गरेको मुनलाइट इङ्लिस बोर्डिङ स्कुलको बसले बाटो छेउमा खेलिरहेकी स्थानीय महिमा चौधरीलाई ठक्कर दिएको थियो। मधेश प्रदेश ०३–००१ क २८७८ नम्बरको बसले ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय गौरका डीएसपी वसन्त गौतमका अनुसार बालिकाको शव पोस्टमार्टमका लागि चन्द्रपुर सरकारी अस्पतालमा राखिएको छ।
दुर्घटनापछि प्रहरीले बस र चालक चन्द्रपुर निवासी ४५ वर्षीय कान्छा राईलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










