नवरात्रको पाँचौँ दिन, स्कन्दमाताको पूजा गरिँदै
बडादसैँअन्तर्गत नवरात्रको पाँचौँ दिन आज स्कन्दमाता भगवतीको पूजाआराधना गरिँदै छ। दुर्गा भवानीका नौ स्वरूपमध्ये पाँचौँ स्वरूपका रूपमा स्कन्दमाताको पूजा गर्ने धार्मिक परम्परा छ।
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौँ दिन स्कन्दमाताको पूजा गरिन्छ। त्यस्तै, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गर्ने मान्यता छ।
नवरात्रका अवसरमा दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत तथा विभिन्न देवी स्तोत्र र स्तुतिहरू पाठ गर्ने चलन छ। यस अवधिमा देवी दुर्गाका शक्तिपीठ तथा मन्दिरहरूमा विशेष पूजाआराधना गरिन्छ।
आज पनि देशभरका विभिन्न शक्तिपीठमा दर्शन तथा पूजाआराधना गर्ने भक्तजनको घुइँचो लाग्ने गरेको छ। काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणी मन्दिरमा भक्तजन पुग्ने गरेका छन्।
त्यस्तै, उपत्यकाबाहिर सुनसरीको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता र पोखराको विन्ध्यवासिनी मन्दिरमा पनि नवरात्रका बेला भक्तजनको घुइँचो लाग्ने गर्दछ।










