मकवानपुरमा जगबाट इँटा निकाल्ने क्रममा माटोले पुरिएर एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० मेनरोडमा पुरानो घरको जगबाट इँटा निकाल्ने क्रममा माटोले पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मंगलबार साँझ करिब ५:२५ बजे घरको जगमा रहेको इँटा निकाल्ने क्रममा माथिबाट माटो खस्दा हेटौंडा–१० पूर्वेलीटोलका करिब ४५ वर्षीय किरण राना मगर र मनहरी गाउँपालिका–६ का २७ वर्षीय रोशन श्रेष्ठ पुरिएका थिए ।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले दुवै जनाको उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्याएको थियो । उपचारका क्रममा चिकित्सकले किरण राना मगरलाई साँझ ६:०२ बजे मृत घोषणा गरेका थिए ।
घटनामा घाइते रोशन श्रेष्ठको कम्मरमा चोट लागेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मृतकको शव हेटौंडा अस्पतालमै राखिएको छ ।
प्रहरीका अनुसार उक्त घर पहिले नै भत्काइएको थियो । घरको जगमा रहेको इँटा निकाल्ने क्रममा माथिबाट माटो खसेर दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।










