बाराको सीमाबाट भन्सार छलीका कपडा र तीन मोटरसाइकल बरामद

कोल्हवी न्यूज
२०८३ आश्विन २८, बुधबार ०६:४० गते

बारा । बारामा सशस्त्र प्रहरीले ११ लाख ४६ हजार रुपैयाँ बराबरका भन्सार छलीका कपडा र तीनवटा मोटरसाइकल बरामद गरेको छ। घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

मंगलबार सुवर्ण गाउँपालिका–३ पचगछियास्थित सीमा क्षेत्रमा भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीले सामान बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वार्टर बाराका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रममणि अधिकारीका अनुसार बरामद सामग्रीमध्ये ६ लाख ९६ हजार रुपैयाँ बराबरका साडी तथा धोती र ४ लाख ५० हजार रुपैयाँ बराबरका तीनवटा मोटरसाइकल छन्।

सीमा सुरक्षा गुल्म पिपरपाती र बोर्डर आउट पोस्ट (बीओपी) बेनौलीबाट खटिएको गस्ती टोलीलाई देखेपछि केही व्यक्ति मोटरसाइकलमा राखेर ल्याउँदै गरेको सामान छाडेर फरार भएका थिए। सोही क्रममा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो।

बरामद सामान तथा नियन्त्रणमा लिइएका व्यक्तिलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*