दसैँको चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

कोल्हवी न्यूज
२०८३ आश्विन २८, बुधबार ०६:३६ गते

बडादसैँअन्तर्गत नवरात्रको चौथो दिन आज नवदुर्गामध्येकी चौथो स्वरूप कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। दसैँ घर तथा पूजा कोठामा देवीको आह्वान गरी श्रद्धा र भक्तिपूर्वक पूजा गर्ने परम्परा छ।

धार्मिक मान्यताअनुसार कुष्माण्डा देवीले आफ्ना भक्तजनका दुःख, कष्ट तथा तीन प्रकारका ताप नाश गर्ने विश्वास गरिन्छ। त्यसैले नवरात्रको चौथो दिन देवीको आराधना गरी सुख, शान्ति, शक्ति र समृद्धिको कामना गर्ने चलन छ।

नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखेसँगै नवदुर्गाको पूजा सुरु भएको हो। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिएको थियो। आज चौथो दिन कुष्माण्डा देवीको पूजा गरिँदै छ।

शास्त्रीय परम्पराअनुसार नवरात्रका नौ दिन क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ। यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ।

नवरात्रका अवसरमा भक्तजनले दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थ तथा स्तोत्र पाठ गरी देवीको आराधना गर्ने गर्छन्। देवीको पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।

यस अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा दर्शन र पूजाआराधना गर्ने भक्तजनको भीड लाग्ने गरेको छ। काठमाडौँ उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, भद्रकाली, नक्साल भगवती र शोभाभगवतीलगायत मन्दिरमा भक्तजन पुग्ने गर्छन्।

त्यस्तै उपत्यकाबाहिरका मनकामना, गढीमाई, छिन्नमस्ता, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी र उग्रतारालगायत शक्तिपीठमा पनि नवरात्रका बेला विशेष पूजा आराधना गरिन्छ।

नवरात्रका नौ दिन पूजा आराधना गरेपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाएर दसैँ मनाउने परम्परा छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*