कांग्रेसको क्षेत्रीय अधिवेशन : बारा–३ मा कलावती पासवान सर्वसम्मत चयन

बारा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बारा क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिमा कलावती पासवान सर्वसम्मत चयन भएकी छन्। उनी पार्टीको इतर समूहबाट क्षेत्रीय सभापतिमा चयन भएकी हुन्।
शनिबार कलैया उपमहानगरपालिका–१ स्थित रामजानकी मन्दिर परिसरमा आयोजित क्षेत्रीय अधिवेशनबाट पासवानलाई सभापतिमा चयन गरिएको हो।
अधिवेशनबाट प्रदेशसभा क्षेत्र नम्बर ३(क) को सभापतिमा सुरेशप्रसाद साह र ३(ख) को सभापतिमा हरि प्रवेश यादव पनि सर्वसम्मत चयन भएका छन्। यसैगरी, कलैया उपमहानगरपालिकाको नगर सभापतिमा दिपेन्द्र कुशवाहा चयन भएका छन्। नगर अधिवेशनबाट कुशवाहालाई सर्वसम्मत रूपमा सभापति चयन गरिएको हो।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्व सांसद राधेचन्द्र यादव, जिल्ला सभापति राजेश राय यादव, पूर्व जिल्ला सभापति जयचन्द चौरसियालगायत नेताहरूले नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सांसद यादवले पार्टीलाई बलियो बनाउन नेता तथा कार्यकर्ताबीच एकता आवश्यक रहेको बताए। उनले आगामी निर्वाचनमा उम्मेदवारको विचार, क्षमता र कामको मूल्यांकन गरेर मतदान गर्न आग्रह गरे।
पार्टीभित्र एकताको कुरा भए पनि व्यवहारमा पार्टीका उम्मेदवारलाई नै मतदान नगर्ने प्रवृत्ति देखिएको भन्दै उनले चिन्ता व्यक्त गरे। आगामी दिनमा मेयर, वडाध्यक्षलगायत जनप्रतिनिधिका उम्मेदवार छनोट गर्दा उनीहरूको क्षमता, विचार र जनताप्रतिको जिम्मेवारीलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा कलैया उपमहानगरपालिकाका पूर्व उपप्रमुख रहिमा खातुन, कांग्रेस नेता सुनिल गुप्ता, नेपाल तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेल, जिल्ला विकास समिति बाराका पूर्व सभापति राजेन्द्रप्रसाद यादव, विभिन्न वडा तथा पालिकाका सभापति, नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।










