बारामा ३३६ मृतकको नाम मतदाता नामावलीबाट हटाइयो
बारा, असोज। जिल्ला निर्वाचन कार्यालय बाराले मृत्यु भएका ३३६ जनाको नाम मतदाता नामावलीबाट हटाएको छ। जिल्लाका विभिन्न स्थानीय तहबाट प्राप्त मृत्यु दर्तासम्बन्धी विवरणका आधारमा मृतकको नाम हटाइएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार गत असार २६ गते जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गरी मृत्यु भएका मतदाताको विवरण उपलब्ध गराउन आग्रह गरिएको थियो। सोहीअनुसार विभिन्न वडाबाट प्राप्त विवरण रुजु गरी ३३६ जनाको नाम मतदाता नामावलीबाट हटाइएको हो।
मतदाता नामावलीलाई अद्यावधिक र त्रुटिरहित बनाउने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
जिल्ला निर्वाचन अधिकारी नवीन चौधरीले भूलवश कुनै जीवित मतदाताको नामसमेत हटेको भए आवश्यक प्रमाणसहित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छन्। त्यस्ता मतदाता स्वयं वा उनीहरूको एकाघरका सदस्यले प्रमाणसहित कार्यालयमा निवेदन दिन सक्ने उनले बताएका छन्।
कार्यालयले मतदाता नामावलीमा हुन सक्ने त्रुटि सच्याउँदै विवरणलाई व्यवस्थित बनाउने काम भइरहेको जनाएको छ।










