बाराको सिम्रौनगढमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, तीन जना घाइते
बारा । बाराको सिम्रौनगढ नगरपालिका–९ बसवरियास्थित नहर सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
सिम्रौनगढबाट कचोर्वातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ०५ एएफ ०१४० नम्बरको मोटरसाइकलले सोही दिशामा गइरहेको साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा साइकलको पछाडि सवार सिम्रौनगढ नगरपालिका–६ निवासी सबु मोहम्मदकी श्रीमती ३७ वर्षीया रिजवाना खातुन गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्याइएकी उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा साइकल चालक सबु मोहम्मदसमेत घाइते भएका छन्। उनको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ।
त्यस्तै, मोटरसाइकल चालक सिम्रौनगढ–६ निवासी अजय महतो र मोटरसाइकलमा सवार विवेक महतो पनि घाइते भएका छन्। प्रहरीका अनुसार दुवैको अवस्था गम्भीर रहेको छ।
घाइते अजयलाई कलैयामा सामान्य उपचारपछि थप उपचारका लागि राति ७ः५० बजे वीरगन्जस्थित नारायणी न्युरो अस्पताल पठाइएको थियो। विवेकलाई पनि प्राथमिक उपचारपछि सोही अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल र साइकल प्रहरी चौकी कचोर्वाको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










