जमरा राखेर बडादसैँको विधिवत् सुरुवात, घटस्थापनाको साइत ११:४७ बजे

कोल्हवी न्यूज
२०८३ आश्विन २५, आईतवार ०७:१९ गते

हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व बडादसैँ आजदेखि विधिवत् सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै दसैँको धार्मिक अनुष्ठान आरम्भ भएको हो।

घटस्थापनाका अवसरमा आज घरघरमा पूजा कोठा तथा दसैँघरमा कलश स्थापना गरी दुर्गा भवानीको पूजा आराधना गरिँदैछ। यसै दिन शुद्ध माटो वा बालुवा राखेर जौँ रोप्ने परम्परा छ, जसलाई जमरा राख्ने भनिन्छ। दसैँको मुख्य दिन विजयादशमीमा टीकासँगै जमरा ग्रहण गर्ने धार्मिक चलन रहेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष घटस्थापनाको शुभ साइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको छ। सूर्योदयका समयमा प्रतिपदा तिथि परेका आधारमा आजै घटस्थापना गर्ने निर्णय गरिएको समितिले जनाएको छ।

दसैँको पहिलो दिनदेखि नौ दिनसम्म दुर्गा देवीका नौ स्वरूपको पूजा गरिन्छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको आराधना गर्ने परम्परा छ।

धार्मिक मान्यताअनुसार महाकालीलाई शक्ति, महालक्ष्मीलाई धन तथा ऐश्वर्य र महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकका रूपमा पूजा गरिन्छ। दसैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाउने गरिन्छ।

दसैँका क्रममा सातौँ दिन फूलपाती भित्र्याउने, महाअष्टमी र महानवमीमा विशेष पूजा गर्ने तथा विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने चलन छ। यस अवधिमा देशभरका देवी मन्दिर तथा शक्तिपीठमा भक्तजनको चहलपहल बढ्ने गर्छ।

यस वर्ष विजयादशमी कात्तिक ४ गते बुधबार परेको छ। समितिका अनुसार त्यस दिन देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा र टीका ग्रहणका लागि उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ।

विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिने परम्परासँगै बडादसैँको उत्सव मनाइन्छ। कोजाग्रत पूर्णिमाका दिन घटस्थापनामा राखिएको जमरा विसर्जन गर्ने धार्मिक चलन पनि छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*