चाडपर्वको सजावट र खरिदको जिम्मा जीतपुरसिमराले दियो वडा कार्यालयलाई

कोल्हवी न्यूज
२०८३ आश्विन २३, शुक्रबार १६:०५ गते

बारा, २३ असोज । जीतपुरसिमरा उपमहानगरपालिकाले दसैँ, दीपावली र छठ पर्वलाई लक्षित गर्दै गरिने सजावट, पूजा व्यवस्थापन तथा आवश्यक सामग्री खरिदको जिम्मेवारी वडा कार्यालयलाई दिएको छ।

उपमहानगरपालिकाले २४ वटै वडा सचिवलाई पत्राचार गर्दै चाडपर्वसँग सम्बन्धित कामको खर्च व्यवस्थापन, खरिद र भुक्तानी प्रक्रिया सम्बन्धित वडा कार्यालयबाटै सञ्चालन गर्न अख्तियारी दिएको हो।

यसअघि वडामा बत्ती जडान, दुर्गापूजा तथा छठ पर्वका लागि आवश्यक सामग्री खरिदलगायतका काम उपमहानगरपालिका कार्यालयमार्फत हुँदै आएका थिए। चालु वर्षदेखि भने यस्ता कामको व्यवस्थापन र भुक्तानी प्रक्रिया वडा कार्यालयबाटै अघि बढाइने भएको छ।

खरिद प्रक्रियालाई व्यवस्थित र एकरूप बनाउन उपमहानगरपालिकाले वडा कार्यालयहरूलाई कार्यसम्पादन चेकलिस्टसमेत उपलब्ध गराएको छ। उपसचिव उमेश वाग्लेले जारी गरेको निर्देशनअनुसार कामको प्रकृति र रकमका आधारमा सम्बन्धित वडा कार्यालयले तोकिएको खरिद प्रक्रिया पूरा गर्नुपर्नेछ।

चेकलिस्टअनुसार एक लाख रुपैयाँसम्मको खरिद वा काम सोझै गर्न सकिनेछ। त्यसका लागि भुक्तानी प्रक्रियामा सम्बन्धित बिल पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

एक लाख रुपैयाँभन्दा बढी र १५ लाख रुपैयाँसम्मको कामका लागि भने आवश्यकतासहितको टिप्पणी उठाएर कम्तीमा तीनवटा फर्म वा कम्पनीबाट दररेट माग गर्नुपर्नेछ। प्राप्त दररेट कार्यालयमा दर्ता गरी स्वीकृत गरेपछि सबैभन्दा कम रकममा काम गर्न तयार फर्म वा कम्पनी छनोट गर्नुपर्ने व्यवस्था छ।

छनोट भएको फर्म वा कम्पनीलाई सम्झौताका लागि पत्राचार गरी निवेदनका आधारमा सम्झौता तथा कार्यादेश जारी गर्नुपर्नेछ। काम सम्पन्न भएपछि सम्बन्धित फर्म वा कम्पनीले बिल पेस गर्नुपर्ने र प्राविधिक मूल्याङ्कनपछि मात्र भुक्तानी दिनुपर्ने व्यवस्था चेकलिस्टमा उल्लेख छ।

चाडपर्वका बेला वडामा हुने सजावट, बत्ती जडान, पूजाआजा तथा सामग्री खरिदका काम छिटो र व्यवस्थित रूपमा सञ्चालन गर्न जिम्मेवारी विकेन्द्रित गरिएको उपमहानगरपालिकाले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*