सेयर बजारमा हरियाली, नेप्सेसहित सबै समूहगत सूचकमा वृद्धि

कोल्हवी न्यूज
२०८३ आश्विन २३, शुक्रबार १६:०० गते

साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.१५ अंकले बढेर २५९१ विन्दुमा पुगेको छ। कारोबार रकमसमेत अघिल्लो दिनको तुलनामा बढेको छ।

बिहीबार ३ अर्ब ९३ करोड रुपैयाँको सेयर कारोबार भएको बजारमा शुक्रबार ४ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएको हो।

शुक्रबार कारोबारमा आएका कम्पनीमध्ये १८० वटाको सेयर मूल्य बढेको छ भने ८९ वटाको घटेको छ। १० कम्पनीको मूल्यमा भने कुनै परिवर्तन भएन।

सबै समूहगत सूचक बढेका छन्। बैंकिङ समूहको सूचक सबैभन्दा धेरै १.२८ प्रतिशतले वृद्धि भएको छ। होटल तथा पर्यटन समूह ०.९० प्रतिशत, जलविद्युत् ०.७४ प्रतिशत र विकास बैंक समूह ०.६१ प्रतिशतले बढेका छन्।

त्यस्तै, जीवन बीमा समूह ०.४४ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.३७ प्रतिशत, व्यापार ०.३७ प्रतिशत, फाइनान्स ०.३३ प्रतिशत, अन्य समूह ०.२८ प्रतिशत, निर्जीवन बीमा ०.१८ प्रतिशत, माइक्रोफाइनान्स ०.१७ प्रतिशत र लगानी समूह ०.१६ प्रतिशतले बढेका छन्।

शुक्रबार कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ४.९१ प्रतिशतले बढेको छ। सिन्धु विकास बैंकको ४.२२ प्रतिशत, सोलु हाइड्रोपावरको ४.०५ प्रतिशत र सान्भी इनर्जीको ३.८६ प्रतिशतले मूल्य बढेको छ।

यसैगरी, रिजलाइन इनर्जीको सेयर मूल्य ७.८५ प्रतिशतले घटेको छ। महिला लघुवित्तको २.०९ प्रतिशत र सयपत्री हाइड्रोपावरको २.०८ प्रतिशतले मूल्य घटेको छ।

कारोबार रकमका आधारमा कुमारी बैंक, घलेम्दी हाइड्रोपावर, हिमालयन डिस्टिलरी, सोलु हाइड्रोपावर, लक्ष्मी सनराइज बैंक, सोनापुर मिनरल्स, एसवाई प्यानल र बलेफी हाइड्रोपावर अगाडि रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*