एनपीएलको तेस्रो संस्करणमा विराटनगर किंग्सको प्रशिक्षकमा धम्मिका प्रसाद

कोल्हवी न्यूज
२०८३ आश्विन २३, शुक्रबार ०७:०२ गते

 नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर धम्मिका प्रसादलाई मुख्य प्रशिक्षकका रूपमा पुनः नियुक्त गरेको छ।

श्रीलंकाका पूर्व तीव्र गतिका बलर प्रसादले आफ्नो अन्तर्राष्ट्रिय करिअरमा २५ टेस्ट, २४ एकदिवसीय र १४ टी–२० खेल खेलेका छन्। उनले यसअघि अमेरिका राष्ट्रिय टोली, नेपाल र ओमानको बलिङ प्रशिक्षकका रूपमा काम गरिसकेका छन्। साथै, लङ्का प्रिमियर लिगका विभिन्न टोलीमा पनि उनले प्रशिक्षणको जिम्मेवारी सम्हालेका छन्।

बलिङ प्रशिक्षण, खेलाडी विकास र टोली व्यवस्थापनमा उनको अनुभवलाई ध्यान दिँदै विराटनगरले उनलाई निरन्तरता दिएको हो। प्रसाद यसअघि पनि विराटनगरको प्रशिक्षक रहिसकेका छन्। टोलीले विदेशी खेलाडीका रूपमा चरिथ असलंका र शुभम रन्जनेलगायतलाई अनुबन्ध गरिसकेको छ।

एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितालाई लक्षित गर्दै कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति, पिच तथा आउटफिल्ड व्यवस्थापन र दर्शक प्यारापिटमा कुर्सी जडानको काम भइरहेको छ।

मैदानमा पहेँलो, रातो, सुन्तला र सेतो रङका कुर्सी जडान गरिएका छन्। दर्शकका सवारीसाधन पार्किङका लागि कीर्तिपुरका विभिन्न खुला ठाउँ निर्धारण गरिएको छ। विदेशी कमेन्टेटर तथा टेलिभिजन प्राविधिकका लागि आधुनिक सुविधासहितको कार्यकक्षसमेत तयार पारिँदै छ।

प्रतियोगितामा दर्शकको चाप बढ्न सक्ने अनुमानसहित आयोजक र नेपाल प्रहरीले सुरक्षा व्यवस्थापनको तयारी पनि अघि बढाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*