एमालेको स्थायी कमिटी बैठक : मङ्सिर २६ मा वडा, पुस ४ मा पालिका अधिवेशन
नेकपा (एमाले) ले आगामी मङ्सिर २६ गते वडा अधिवेशन र पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णय गरेको छ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकले अधिवेशनको मिति तय गरेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो।
बैठकले मङ्सिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णयसमेत गरेको छ। भेलामा पार्टीका प्रदेश तथा जिल्ला पदाधिकारीसँगै सङ्घ, प्रदेश र पालिकाका जनप्रतिनिधि सहभागी हुनेछन्।
एमालेले वडा तथा पालिका अधिवेशनपछि प्रदेशस्तरीय भेला गर्ने तयारी गरेको छ। यस्तै, १३ जिल्लामा रिक्त रहेका अध्यक्ष पदमा सम्बन्धित स्थानीय कमिटीलाई निर्णय गरी नाम केन्द्रमा पठाउन निर्देशन दिइएको छ।
स्थायी कमिटीको बैठक भोलि दिउँसो १ बजे पुनः बस्ने उपमहासचिव भट्टले जानकारी दिनुभयो।










