दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला

कोल्हवी न्यूज
२०८३ आश्विन २३, शुक्रबार ०६:५६ गते

दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ। बुकिङ सुरु भएसँगै काठमाडौंको नयाँ बसपार्कमा टिकट काट्ने यात्रुको चहलपहल बढेको छ।

टिकट बुकिङ खुल्ने अघिल्लो रातिदेखि नै नयाँ बसपार्कमा यात्रुको भीड लागेको थियो। यात्रुको चापलाई व्यवस्थित गर्दै सहज रूपमा टिकट उपलब्ध गराउन लोत्से बहुउद्देश्यीय प्रालिले बसपार्क क्षेत्रमा १५ वटा अतिरिक्त टिकट काउन्टर सञ्चालनमा ल्याएको जनाएको छ। यात्रुको सुरक्षाका लागि आवश्यक प्रबन्धसमेत मिलाइएको कम्पनीले जानकारी दिएको छ।

यातायात व्यवस्था विभागमा असोज २० गते बसेको विभाग, नेपाल प्रहरी, यातायात व्यवसायी तथा मजदुर प्रतिनिधिहरूको बैठकले असोज २३ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो।

दशैंमा राजधानीबाट घर फर्किने यात्रुको चाप बढ्ने भएकाले अग्रिम टिकट बुकिङले यात्रालाई सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*