बारा–रौतहटका चालकमाथि भीमफेदीमा लागुऔषध परीक्षण, ५ जनामा पोजेटिभ
हेटौँडा । मकवानपुरको भीमफेदीमा गरिएको सवारी चालकको स्वास्थ्य परीक्षण तथा लागुऔषध सेवन परीक्षणका क्रममा पाँच जना चालकमा लागुऔषध सेवन गरेको देखिएको छ।
भीमफेदी गाउँपालिका–६ स्थित चेकपोस्टमा बिहीबार जिल्ला जनस्वास्थ्य कार्यालय हेटौँडा, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय भीमफेदी र भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रको संयुक्त टोलीले परीक्षण गरेको हो।
सवारी दुर्घटना तथा सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म गरिएको परीक्षणमा ६४ जना सवारी चालकको स्वास्थ्य परीक्षण तथा लागुऔषध सेवन परीक्षण गरिएको थियो।
परीक्षणका क्रममा पाँच वटा सवारी साधनका चालकमा लागुऔषध सेवनको परिणाम पोजेटिभ देखिएको प्रहरीले जनाएको छ। पोजेटिभ देखिएका चालक र सवारी साधनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय भीमफेदीमा राखिएको थियो।
नियन्त्रणमा पर्नेमा रौतहट चन्द्रपुर–१० का ३० वर्षीय राजु चौधरी, बारा निजगढ–२ का २३ वर्षीय बिनोद राउत, बारा करहीया गाउँपालिका–८ का २४ वर्षीय सुनिल यादव, बारा सिम्रौनगढ–६ का २७ वर्षीय विशाल साह र रौतहट गुजरा नगरपालिका–१ का २५ वर्षीय निरे चौधरी रहेका छन्।
उनीहरू क्रमशः योद्धा पिकअप, योद्धा पिकअप, योद्धा पिकअप, सुमो र योद्धा पिकअपका चालक रहेको प्रहरीले जनाएको छ।
पाँचै जना चालकलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ।










