दशैँको अवसरमा हेटौँडा इन्डोर लिग हुँदै, १२ टोलीबीच प्रतिस्पर्धा,तयारी पुरा

कोल्हवी न्यूज
२०८३ आश्विन २२, बिहीबार १८:४३ गते

हेटौँडा । दशैँको अवसरमा माया स्पोर्ट्स सेन्टरको आयोजनामा हेटौँडा इन्डोर लिग–२०२६ शुक्रबारदेखि हेटौँडामा सुरु हुने भएको छ। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

 

 

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौँ, वीरगञ्ज, चितवन, सर्लाही, बारा, हेटौँडा लगायतका जिल्लाबाट १२ टोलीको सहभागिता रहनेछ। सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहबाट उत्कृष्ट दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्।

 

 

असोज २३ गते शुक्रबार प्रतियोगिताको पहिलो दिन सात खेल सञ्चालन हुनेछन्। बिहान ८ बजे हुने उद्घाटन खेलमा आयोजक माया स्पोर्ट्स सेन्टर र भायानेट कम्युनिकेसनबीच प्रतिस्पर्धा हुनेछ। त्यसपछि थन्डर स्ट्राइकर र क्याम्पा–११, रोयल गोर्खा क्रिकेट र इ–प्लानेट तथा भायानेट कम्युनिकेसन र वीरगञ्ज बासर्सबीच खेल हुनेछ।

 

 

पहिलो दिन हेटौँडा स्पोर्ट्स एकेडेमी र इ–प्लानेट, तराई लायन्स र चमनपुर सुपर किङ्स तथा माया स्पोर्ट्स सेन्टर र वीरगञ्ज बासर्स बीच पनि प्रतिस्पर्धा हुनेछ।

 

 

असोज २४ गते शनिबार समूह चरणका खेलसँगै क्वार्टरफाइनलका चार खेल सञ्चालन हुनेछन्। बिहान ८ बजे भेट्रान स्ट्राइकर्स र क्याम्पा–११बीच खेल हुनेछ। त्यसपछि याङ्ग्री ब्वाइज र तराई लायन्स तथा हेटौँडा स्पोर्ट्स एकेडेमी र रोयल गोर्खा क्रिकेटबीच प्रतिस्पर्धा हुनेछ। दिउँसो २ बजेदेखि क्वार्टरफाइनलका खेल सुरु हुनेछन्।

 

 

प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँसहित ट्रफी र मेडल तथा उपविजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। प्रतियोगिताका सबै खेल माया स्पोर्ट्स सेन्टर, हेटौँडामा सञ्चालन हुनेछन्।

 

 

माया स्पोर्ट्स सेन्टरका सञ्चालक विप्लव पौडेलले प्रतियोगिताले खेलाडीमा उत्साह बढाउनुका साथै आपसी एकता र स्वस्थ प्रतिस्पर्धाको विकासमा योगदान पुर्‍याउने बताउनुभयो। विभिन्न जिल्लाका खेलाडीलाई एउटै प्रतियोगितामा सहभागी गराई अनुभव आदानप्रदान तथा क्रिकेटको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उहाँको भनाइ छ।

 

 

 

दशैँको अवसरमा आयोजना हुन लागेको प्रतियोगिताले हेटौँडाको क्रिकेट माहोल थप उत्साहित बनाउने अपेक्षा गरिएको छ। प्रतियोगिताका सम्पूर्ण खेल नेशनल गोल्ड एचडी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने आयोजकले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*