हेटौँडा–११ का खेलकुद विकास समिति अध्यक्ष पुडासैनीले दिए राजीनामा
हेटौँडा । हेटौँडा उपमहानगरपालिका–११ का वडा खेलकुद विकास समितिका अध्यक्ष प्रभाकर पुडासैनीले पदबाट अलग भएको घोषणा गरेका छन्।
पुडासैनीले बिहीबार वडा अध्यक्षलाई पत्र बुझाउँदै आफ्नो कार्यकाल सम्पन्न भएकाले वडा खेलकुद विकास समितिको अध्यक्ष पदको जिम्मेवारीबाट अलग भएको जानकारी दिएका हुन्।
आफ्नो कार्यकालमा खेलकुद क्षेत्रको विकास, खेलाडीको प्रोत्साहन तथा विभिन्न खेलकुद कार्यक्रम सञ्चालनमा सहयोग गर्ने वडा कार्यालय, जनप्रतिनिधि, समितिका पदाधिकारी, खेलाडी, प्रशिक्षक तथा खेलप्रेमीप्रति उनले आभार व्यक्त गरेका छन्।
आगामी दिनमा वडा नम्बर ११ मा सञ्चालन हुने खेलकुदसम्बन्धी कार्यक्रम तथा गतिविधि आवश्यक समन्वय गरी वडा कार्यालयमार्फत सञ्चालन तथा व्यवस्थापन गरिदिन उनले आग्रह गरेका छन्।
पदबाट अलग भए पनि वडा तथा खेलकुद क्षेत्रको हित, विकास र प्रवर्द्धनका लागि आगामी दिनमा सकारात्मक सहयोग र सहकार्य जारी राख्ने पुडासैनीले प्रतिबद्धता जनाएका छन्।










