भोटेकोशी बाढीपीडितका लागि कोल्हवीको तामागढी सहकारी द्वारा २ लाख ५१ हजार ५ सय सहयोग
कोल्हवी । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि बारा कोल्हविको तामागढी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रु. २ लाख ५१ हजार ५ सय सहयोग गरेको छ।
सहकारी संस्थाले जारी गरेको अपिलपत्रअनुसार गत भदौ १० गते भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीका कारण रसुवा, नुवाकोट, धादिङ,लगाएतका जिल्लामा ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै पीडित परिवार तथा समुदायलाई सहयोग गर्ने निर्णय गरिएको थियो।
संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत बाढी प्रभावित क्षेत्रका पीडित परिवार तथा समुदायलाई मानवीय सहायता तथा राहत उपलब्ध गराउने उद्देश्यले रु. १ लाख ८५ हजार सहयोग गर्ने निर्णय गरेको जनाएको छ। यस्तै, संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, ऋण परिचालन उपसमिति तथा सेवाकेन्द्र सञ्चालन उपसमितिको एक बैठक भत्ताबापतको रकम र कर्मचारीहरूको एक दिनबराबरको तलब रु. ६६ हजार ५ सय समेत राहतका लागि छुट्याइएको छ।
यसरी जम्मा भएको रु. २ लाख ५१ हजार ५ सय रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको सहकारीका प्रबन्धक बासुदेव रिमालले जानकारी गराएका छन। कृषि विकास बैंकमा जम्मा गरिएको रकमसम्बन्धी बैंक भौचरसमेत सार्वजनिक गर्दै संस्थाले सहयोग रकम पारदर्शी रूपमा हस्तान्तरण गरिएको जानकारी दिएको छ।
तामागढी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै बाढीबाट घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै कठिन परिस्थितिमा धैर्यधारण गर्न सबैमा आग्रह गरेको छ।
संस्थाले विपद्को घडीमा सबै नागरिकले ‘एकका लागि सबै, सबैका लागि एक’ भन्ने भावनाका साथ सहयोगमा जुट्नसमेत अपिल गरेको छ।










