हेटौंडामा बाढीपीडितका लागि टोल विकास संस्थामार्फत सहयोग संकलन अभियान शुरु हुने

कोल्हवी न्यूज
२०८३ भाद्र १५, सोमबार ०६:४० गते

हेटौंडा:रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि हेटौंडा उपमहानगरपालिकाभित्रका सम्पूर्ण टोल विकास संस्थाहरूले संयुक्त रूपमा सहयोग संकलन अभियान सञ्चालन गर्ने भएका छन्।

 

 

टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाले बाढीपीडितका लागि सहयोग रकम संकलन गर्न सम्पूर्ण टोल विकास संस्थाहरूलाई आह्वान गरेको हो। भदौ १५ गते सोमबार देखि सुरु हुने समितिले जनाएको छ।

 

 

 

समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले विपद्को यस कठिन घडीमा पीडित नागरिकको दुःखमा साथ दिनु सबैको मानवीय दायित्व भएको बताउनुभयो। उहाँले हेटौंडामा रहेका सम्पूर्ण टोल विकास संस्थाहरूले आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग संकलन गरी अभियानमा सक्रिय सहभागिता जनाउने बताउनुभयो।

 

 

 

अधिकारीका अनुसार संकलित रकममा पूर्ण पारदर्शिता कायम गरिनेछ। प्रत्येक टोल विकास संस्थाले संकलन गरेको रकम सम्बन्धित टोल विकास संस्थाको नामबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा वा कोषले उपलब्ध गराएको क्यूआर कोडमार्फत जम्मा गर्न आग्रह गरिएको छ।

 

 

संकलित सहयोग रकमको विवरण सम्बन्धित वडा समन्वय समिति तथा टोल विकास संस्था नगर समन्वय समितिमा पठाइने र सहयोग गर्ने टोल विकास संस्थाहरूको नामावली तथा सहयोग रकमको विवरण पारदर्शी रूपमा सार्वजनिक गरिने समितिले जनाएको छ। अध्यक्ष अधिकारीले भन्नुभयो, विपद्को समयमा पीडित नागरिकको दुःखमा साथ दिनु हामी सबैको मानवीय दायित्व हो।

 

 

 

सानो-सानो सहयोगलाई एकत्रित गर्न सके त्यसले पीडित परिवारका लागि ठूलो राहत र आशाको आधार बन्न सक्छ । समितिले राहत तथा उद्धारका लागि सम्बन्धित निकायबाट तत्काल प्रभावकारी पहल हुनुपर्नेमा जोड दिँदै सबै टोल विकास संस्थालाई सहयोग संकलन अभियानमा सक्रियतापूर्वक सहभागी हुन आह्वान गरेको छ।

 

 

हेटौंडाका सम्पूर्ण टोल विकास संस्थाहरूको सहभागितामा सञ्चालन हुने यस अभियानले विपद्मा परेका नागरिकलाई राहत पुर्‍याउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*