बाराको कोल्हवीमा मालपोत र नापी सेवा सञ्चालनको तयारी
कोल्हवी:बारा जिल्लाको कोल्हवी मा अब मालपोत तथा नापी सम्बन्धी सेवा सञ्चालन हुने भएको छ।
नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको जग्गा प्रशासन शाखाले जारी गरेको पत्र अनुसार स्थानीय तहबाटै भूमि प्रशासन सम्बन्धी सेवा प्रवाह गर्ने तयारी अघि बढाइएको हो।
मन्त्रालयले २०८३ सालमा जारी गरेको पत्रमा पहिलो चरणमा देशभरका ३५ स्थानीय तह छनोट गरी त्यहाँबाट मालपोत तथा नापी सेवा सञ्चालन गर्ने निर्णय गरिएको उल्लेख छ। सोही सूचीमा मधेश प्रदेश अन्तर्गत बाराको कोल्हवी नगरपालिका पनि समावेश गरिएको छ।
पत्रमा भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई आवश्यक समन्वय गरी सेवा प्रवाहको प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ। यस निर्णयसँगै कोल्हवी क्षेत्रका नागरिकलाई अब जग्गा पास,नामसारी,नापजाँच लगायतका सेवाका लागि टाढाका जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता क्रमशःअन्त्य हुने अपेक्षा गरिएको छ।
स्थानीयवासीले लामो समयदेखि कोल्हवी क्षेत्रमा मालपोत र नापी कार्यालय स्थापना गर्न माग गर्दै आएका थिए।सरकारले स्थानीय तहबाटै सेवा विस्तार गर्ने नीति अनुसार कोल्हवीलाई पनि प्राथमिकतामा राखेपछि स्थानीयमा उत्साह थपिएको छ।
यस कदमले सेवा प्रवाहलाई सहज,छिटो तथा नागरिकमैत्री बनाउने विश्वास गरिएको छ भने कोल्हवी आसपासका सर्वसाधारणलाई समय र आर्थिक भार कम हुने अपेक्षा गरिएको छ।











