विश्व प्रसिद्ध गढीमाई मन्दिरको दान पेटिका खोलियो, चाँदी सहित विभिन्न विदेशी मुद्रा भेटियो
बाराको विश्व प्रसिद्ध गढीमाई मन्दिर प्राङ्गणमा रहेको दान पेटिका आज खोलिएको छ ।
गढीमाई पाँच वर्षे मेला तथा व्यवस्थापन मूल समितिका अध्यक्ष एवम् कलैया उपमहानगरपालिकाका प्रमुख उपेन्द्र यादवले पेटिका खोलेका हुन् । मन्दिर सञ्चालन समितिका अध्यक्ष रामचन्द्र साहको विशेष उपस्थितिमा पेटिका खोलिएको हो ।
दान पेटिका खोल्दा अहिलेसम्म चाँदीको आँखा सहित अमेरिकी डलर, भारतीय रुपियाँ, कतारी रियालसहितका विभिन्न विदेशी मुद्राहरू भेटिएको अध्यक्ष साहले जानकारी दिए ।
उनले मन्दिर प्राङ्गणमा रहेको चार मध्ये एक पेटिका हाल मिलाइँदै गरेको र अरू पेटिका पनि चाँडै खोलेर भेटी मिलाउने तयारी भइरहेको बताए । असोज १७ गते घटस्थापनादेखि हालसम्म दान पेटिकामा जम्मा भएको भेटी खोलिएको हो ।
कलैया उपमहानगर प्रमुख यादवले मन्दिरमा प्राप्त भेटी मन्दिरको विकास तथा व्यवस्थापनका लागि प्रयोग गरिने जानकारी दिए । गढीमाई मन्दिरको दान पेटिकामा सङ्कलित भेटीले मन्दिरको आगामी परियोजनाहरूमा आर्थिक सहयोग पुग्ने विश्वास गरिएको छ ।