वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुँदै
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले वन तथा वातावरण मन्त्रालयको नाम वन, वातावरण तथा जलवायु परिवर्तन राख्ने निर्णय गरेको छ ।
वन मन्त्रालयका सचिव दीपककुमार खरालले वन मन्त्रालयको नाम परिवर्तन गरी वन, वातावरण तथा जलवायु परिवर्तन राख्ने निर्णय भएको बताए । उनले जलवायु परिवर्तनका क्रियाकलापलाई समन्वयात्मक रुपमा अघि बढाएर लैजाने योजनामा सरकार रहेको बताए । उनले जलवायु परिवर्तनबाट नेपालको विशेष परिवेश, पर्वतीय भूगोलको कारणले धेरै समस्या र चुनौतिहरू महसुस गरिरहेको पनि उल्लेख गरे ।
उनले भने, ‘नेपालको जलवायु परिवर्तनमा समन्वयको कुरा अत्यन्त महत्त्वपूर्ण छ । हिजो भएको परिषद्को बैठकबाट यस मन्त्रालयलाई वन, वातावरण तथा जलवायु परिवर्तन मन्त्रालयको रुपमा नामांकन गर्न निर्देशन भएको छ । त्यो अनुसार हामी जाँदैछौँ । जलवायु परिवर्तनका क्रियाकलापलाई समन्वयात्मक रुपमा अघि बढाएर लैजाने योजनामा हामी छौँ । जलवायु परिवर्तनबाट नेपालको विशेष परिवेश, पर्वतीय भूगोलको कारणले धेरै समस्या र चुनौतिहरु महसुस गरिरहेका छौँ । जलवायु परिवर्तनको एउटा मुख्य कारक हुँदाहुँदै त्यसमा थपिएको हाम्रो पर्वतीय श्रृंखलाको एउटा संवेदनशील कारणले आफ्नो फाइदा पनि छ, यसको मूल्य पनि छ ।’