विश्वकप लिग-२ सिरिजका लागि नेपालको प्रारम्भिक टोली घोषणा, क-कसले पाए मौका ?

कोल्हवी न्यूज
२०८१ श्रावण २१, सोमबार ०७:०५

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आसन्न सिरिजका लागि नेपालको प्रारम्भिक टिम घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार रोहितकुमार पौडेलको कप्तानीमा २२ सदस्यीय प्रारम्भिक टिम घोषणा गरेको हो ।

बन्द प्रशिक्षणमा देव खनाल, रिजन ढकाल, सूर्य तामाङ, बसिर अहमद, आकाश चन्द, अर्जुन साउदजस्ता युवा खेलाडीलाई पनि बोलाइएको छ । यस्तै, टिममा पूर्वकप्तान सन्दीप लामिछाने पनि फर्किएका छन् । उनले लिग–२ को जारी साइकलको पहिलो सिरिज गुमाएका थिए ।

युवा ब्याटर अर्जुन कुमालले भने यसपटक पनि बन्द प्रशिक्षणमा मौका पाएनन् । उनले उमेर समूहको क्रिकेटदेखि नेपाल ‘ए’ का लागि राम्रो प्रदर्शन गर्दै आएका छन् । अर्जुनले गत अप्रिलमा आयरल्याण्ड ‘ए’ विरुद्ध  शतक हिर्काएका थिए ।

उक्त इनिङपछि उनले सिनियर टिममा मौका पाउने आशा थियो । तर, अर्जुनको नाम बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडीको सूचीमा देखिएन । नेपालले अब बन्द प्रशिक्षणबाट १४ वा १५ सदस्यीय अन्तिम टिम घोषणा गर्नेछ । उक्त टिमले आउँदो सेप्टेम्बरमा लिग–२ सिरिज खेल्न क्यानडाको यात्रा गर्नेछ, जहाँ नेपालले क्यानडा र ओमानसँग खेल्ने तालिका छ ।

नेपालले पहिला त्यहाँ क्यानडा र ओमानसँग टी–२० श्रृंखला खेल्ने छ । त्यसपछि यी तीन टिमले लिग–२ अन्तर्गतको सिरिजमा प्रतिस्पर्धा गर्नेछन् । जारी लिग–२ को साइकलमा नेपालले एक मात्र सिरिज खेलेको छ, गत फेब्रुअरीमा घरेलु मैदानमा भएको उक्त सिरिजमा नेपालले चारमध्ये तीनमा हार तथा एक खेलमा मात्र जित निकाल्यो । नेपाल अहिले लिग–२ तालिकामा चार खेलबाट दुई अंकसहित छैटौँ नम्बरमा छ ।

बन्द प्रशिक्षणमा बोलाएका २२ खेलाडी : रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिलकुमार साह, सन्दीप लामिछाने, करण केसी, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, सन्दीप जोरा, गुल्सनकुमार झा, कमलसिंह ऐरी, रिजन ढकाल, देव खनाल, भीम सार्की, ललितनारायण राजवंशी, सूर्य तामाङ, कुशल मल्ल, बसिर अहमद, अर्जुन साउद, सागर ढकाल र आकाश चन्द ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*