एमालेमा फर्किए एकीकृत समाजवादीका नेता नागेन्द्र राय यादव
नेकपा एकीकृत समाजवादीका नेता नागेन्द्र राय यादव आइतबार नेकपा एमालेमा प्रवेश गरेका छन् । समाजवादीबाट मधेश प्रदेश सरकारमा राज्यमन्त्री समेत बनिसकेका यादवले आफ्नो पुरानो पार्टी एमालेमा फर्किएका हुन् ।
यादवसहित मधेश प्रदेशबाट विभिन्न दलका नेता तथा कार्यकर्तालाई आइतबार पार्टी कार्यालय च्यासलमा एमाले अध्यक्ष केपी ओलीले पार्टीमा स्वागत गरेका छन् ।
यो अवसरमा अध्यक्ष ओलीले इमानदारीताका साथ पार्टी, देश र जनताका लागि काम गर्न आग्रह गरेका छन् ।
उनले गुटबन्दीबाट टाढा रहेर पार्टीको पक्षमा दृढ रूपमा उभिनुपर्नेमा जोड दिएका छन्। ओलीले विभिन्न कठिनाइ र षड्यन्त्रलाई चिरेर अहिलेको अवस्थामा आइपुगेको भन्दै भविष्यमा थप सफलता प्राप्त गर्दै अघि बढ्ने उल्लेख गरेका छन् ।
एमाले प्रवेश गरेका यादवले नेकपा एकीकृत समाजवादीले कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने गरी अघि बढेकाले पुरानो एमाले पार्टीमा फर्किएको बताएका छन् ।
उनका अनुसार, एमालेमा आफ्नो योगदानलाई पुनः स्थापित गर्न र पार्टीलाई मजबुत बनाउन उनीहरूलाई प्रेरित गरेको छ ।