माओवादी उपमहासचिव गजुरेलको ६ बुँदे प्रस्ताव- अध्यक्षबाहेक सबैले सामूहिक राजीनामा दिउँ, पार्टी बिग्रनुको अपजस लिउँ
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित बीसैजना पदाधिकारीलाई ६ बुँदे प्रस्ताव बाँडेका छन् ।
गत साउन ११ गते शुक्रबार सुरु भएर १५ गते सकिएको पार्टीको पदाधिकारी बैठकमा मौखिक रूपमा पेस गरेको प्रतिवदेन उनले अन्तिममा अध्यक्ष प्रचण्डसहित सबै पदाधिकारीलाई बाँडेका हुन् ।
प्रस्तावमार्फत उनले पार्टीले गरेको ६ गल्ती-कमजोरी औँल्याएका छन् ।
उनले सबैभन्दा पहिले पदाधिकारीको सङ्ख्याको विषयमाथि प्रश्न उठाएका छन् । अहिले माओवादी पदाधिकारी २१ सदस्यीय छ तर, पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनले पारित गरेको विधानमा भने १५ सदस्यीय हुने उल्लेख छ ।
उपमहासचिव गजुरेलले प्रस्तावमा भनेका छन्, “विधान मिच्ने काम हामीबाटै भयो । आफैँले नियमको पालना नगर्ने तर, ठूलो कुरा गर्ने भयौँ । पदाधिकारी विधानअनुरूप १५ सदस्यीय मात्रै हुनुपर्छ ।”
त्यसका लागि उनले विकल्पसमेत प्रस्तुत गरेका छन् । उनले भनेका छन्, “अध्यक्षबाहेक सबैले सामूहिक राजीनामा दिने, त्यसपछि १५ सदस्यीय पदाधिकारी पुन: फर्मेसन गर्ने ।”
उनले सामूहिक राजीनामाका लागि आफू तयार रहेकोसमेत उल्लेख गरेका छन् । नेपालभ्युजसँग उनले भने, “यदि सबै तयार हो भने म पनि तयार हुँ सामूहिक राजीनामाका लागि । तर, त्यसमा मैले मात्रै दिएर हुन्न । मैले मात्रै दिएर त अरु २० जना बाँकी नै रहन्छन्, विधानले त १५ जनाको मात्रै भनेको छ ।”
यस्तै उनले पार्टीको हालत बिग्रँदै आउनुमा सबैको हात रहेको र त्यसको अपजस सबैले लिनुपर्ने बताएका छन् । तर, अब आत्मसमीक्षा गरेर पुन: व्यक्तिगत तथा सामूहिक गल्ती नदोहोर्याउने प्रतिबद्धता गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।
“बिग्रिएका सबै कुराहरू फेरि सच्याउन सकिँदैन । तर, केही त सकिन्छ । त्यसबाट सिकेर अगाडि बढ्न सकिन्छ । अहिलेका लागि यस्तो हुनुपर्छ भन्ने मलाई लागेको छ,” उनले भने, “पार्टीको राम्रो भविष्यका लागि प्रतिबद्धता जनाएर जानुपर्छ ।”
उनले राष्ट्रियसभा अध्यक्ष चयनको सन्दर्भलाई लिएर पनि गम्भीर प्रश्न उठाएका छन् । उनले अध्यक्ष चयनमा अपनाइएको प्रक्रियाले पदाधिकारीहरूको नैतिक धरातल धुजाधुजा भएको टिप्पणी गरेका छन् ।
उपमहासचिव गजुरेल यसअघि पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा उनको राजनीतिक सल्लाहकार नियुक्त भएका थिए । तर, उनले बीचमै राजीनामा दिएका थिए । उनले त्यसबेला आफूलाई भूमिकाविहीन बनाइएपछि राजीनामा दिएको प्रतिक्रिया दिएका थिए ।
त्यसो त गजुरेल पछिल्लो संसदीय निर्वाचनयता पार्टी अध्यक्ष प्रचण्डसँग खासै सन्तुष्ट छैनन् । गजुरेलले सिन्धुली २ बाट चुनाव लड्न खोजेका थिए तर, पार्टीले उनलाई टिकट नदिइ लेखनाथ दाहाललाई दियो । यसपछि उनी पार्टी नेतृत्वसँग खासै खुसी छैनन् ।
गजुरेलको असन्तुष्टि समेट्नै प्रधानमन्त्री हुँदा प्रचण्डले आफ्ना राजनीतिक सल्लाहकार बनाएका थिए तर, उनले त्यहाँबाट पनि भूमिकाविहीन बनाएको आरोप लगाउँदै राजीनामा दिए ।