बागमती प्रदेशः मुख्यमन्त्री र छ जना मन्त्रीहरुले मन्त्रालयको काम सुरु गरे, बिना बिभागिय मन्त्रीलाई हाइसन्चो

कोल्हवी न्यूज
२०८१ श्रावण १०, बिहीबार ०७:०८

बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुर सिंह लामा र अरु छ जना मन्त्रीहरुले मनत्रालयको काम सुरु गरेका छन् । हिजो प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको सपथग्रहण गरेलगतै आफ्ना कामहरु सुरु गरेका हुन् । मुख्यमन्त्री र मन्त्रीहरुले आफ्ना मन्त्रालयमा बिभीन्न निर्णयहरु गर्दै कामको सुरुवात गरेको कर्मचारीहरु बताउँछन् ।

नेकपा एमालेका तर्फबाट नियुक्त भएका मन्त्रीहरुले आफ्ना मन्त्रालयमा गएर काम सुरु गरेपनि नेपाली कांग्रेसबाट नियुक्त भएका अरु तीन जना विना बिभागिय मन्त्रीहरुलाई भने अहिले हाइसन्चो भएको छ ।

मन्त्रालय नतोकिदा अब कुन् मन्त्रालय पर्ने हो भन्ने चिन्ता त्यतीकै भएपनि कुनैपनि काम सुरु गर्न पनि पाएका छैनन् । कांग्रेस भित्रको विवादका कारण मन्त्री नियुक्त भएपनि मन्त्रालय भने मुख्यमन्त्रीसंगै रहेकाले काम गर्न नपाएका हुन् ।

बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले रुग्ण आयोजनाहरूको अध्ययन गर्ने निर्णय गरेका छन् । बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका मास्केले पदभार ग्रहण गर्दै रुग्ण आयोजनाको अध्ययन गर्ने निर्णय गरेका हुन् ।

उनले रुग्ण हुनुको वास्तविक कारण तथा व्यवस्थापनका लागि सुझाव सहित १५ दिन भित्र प्रतिवेदन पेस गर्ने निर्णय गरे । मन्त्री मास्केले मन्त्रालय अन्तर्गत आयोजना निर्देशनालय तथा कार्यालय मार्फत सञ्चालन भएका आयोजनाहरू तोकिएबमोजिम समयावधिमा सम्पन्न नभई अपेक्षित प्रतिफल प्राप्त गर्न ढिलाइ भइरहेको सन्दर्भमा अध्ययन गर्ने बताए ।

त्यस्ता आयोजनाहरूको पहिचान गरी, कार्यान्वयनमा भएका ढिलासुस्तीको वास्तविक कारण पहिल्याई, यथोचित कारबाही अगाडि बढाई रुग्ण आयोजनाहरूको पहिचान गरी आवश्यक प्रक्रिया अघि बढाइने उनको भनाई छ । यसका लागि यातायात पूर्वाधार निर्देशनालयका निमित्त निर्देशक पुष्कर प्रसाद पोखरेलको संयोजकत्वमा समिति समेत गठन गरिएको छ । उक्त समितिको सदस्यमा महाशाखा प्रमुखहरू चन्द्रकाजी गुरुङ र चन्द्रदेव भट्ट रहेका छन् ।

मन्त्रालयमा भ्रष्टाचारमा शून्य सहनशीलता आफ्नो अभियान रहेको उनले बताए । बजेट सही तरिकाले कार्यान्वयन गर्न कर्मचारीको महत्त्वपूर्ण भूमिका हुने भन्दै इमानदार भएर लाग्न आग्रह गरे । प्रदेश निर्वाचन क्षेत्रमा सम्बन्धित सांसदलाई उत्तरदायित्व  बहन गर्ने गरी कार्यक्रम बनाउनुपर्ने पनि उनको भनाई छ । मन्त्रालयका गतिविधि सम्पादन गर्न निरन्तर छलफल गर्ने उनले बताए । कर्मचारीको वृत्ति विकासको लागि सहजीकरण गर्ने मन्त्री मास्केले बताए ।

‘सेतो लुगा लगाएका छौँ, त्यसमा दाग लगाउने काम नगरौँ, अरूको कारण पनि बाछिटा आउन सक्छ त्यसबाट पनि बच्न पर्छ,’ उनले भने, ‘महत्त्वपूर्ण मन्त्रालय भएकोले अब्बल हुने गरी सबैको समन्वयमा काम गर्नपर्छ ।’

बागमती प्रदेशका नवनियुक्त स्वास्थ्य मन्त्री किरण थापाले विपन्न परिवारका प्रदेशवासी क्यान्सरपीडितलाई स्वास्थ्य उपचारका लागि एक लाख सहुलियत प्रदान गर्ने निर्णय गर्नुभएको छ ।

आज पदबहाली गर्दै मन्त्री थापाले बागमती प्रदेशभित्रका विपन्न परिवारका क्यान्सरपीडितलाई प्रदेश सरकारले एक लाख सहयोग गर्ने निर्णय गरेको जानकारी दिनुभयो । मन्त्री थापाले भन्नुभयो, “विगतमा प्रदेश सरकारले विपन्न परिवारका क्यान्सरपीडितलाई ५० हजार सहयोग गर्ने गरेको थियो । अबदेखि एक लाख दिने निर्णय गरेको छु ।” उहाँले यसबापतको आर्थिक दायित्व भुक्तानीका लागि ११ करोड  बजेट सुनिश्चित हुनुपर्ने भएकाले सो बजेटका व्यवस्थाका लागि नियमानुसार मन्त्रिपरिषदमा प्रस्ताव पेस गरिने बताउनुभयो ।

त्यसैगरी, मानसिक एवम् नसर्ने प्रकृतिका रोगको रोकथाम तथा न्यूनीकरणका लागि जिल्लास्तरीय समन्वय समिति गठन गर्ने निर्णय गरेको जानकारी दिँदै स्वास्थ्य मन्त्री थापाले भन्नुभयो, “मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियानलाई अब बागमती प्रदेशका सबै पालिका तहमा पुर्‍याई जनचेतना अभिवृद्धि कार्यक्रममार्फत प्रदेशवासीको स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गरिनेछ ।” भक्तपुर क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित नवनियुक्त स्वास्थ्य मन्त्री थापा पहिलोपटक मन्त्री हुनुभएको हो ।

यसैगरी अरु मन्त्रीहरुले पनि मन्त्रालय अनुसारको काम सुरु गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*